हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति र पहिचान भएका शवलाई सम्बन्धित ठेगानासम्म पुर्याउँदा लाग्ने सम्पूर्ण खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने भएको छ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलका अनुसार प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद् व्यवस्थापन कोषमा आवश्यक रकम उपलब्ध गराइनेछ। उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शव घरसम्म लैजान सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग सम्पर्क गर्न उनले आग्रह गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीले हवाई उद्धारलाई तीव्रता दिएका छन्। उद्धारका क्रममा घाइते तथा जोखिमपूर्ण स्थानमा फसेकालाई प्राथमिकता दिइएको मन्त्री पौडेलले बताए। उद्धारको प्रतीक्षामा रहेका व्यक्तिलाई स्थानीय तहको समन्वयमा खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराइने उनले जानकारी दिए।
यसैबीच, वाग्मती प्रदेश सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनमा तत्काल उद्धार तथा राहतका लागि ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार रसुवा र नुवाकोटका विपद् व्यवस्थापन कोषमा १/१ करोड तथा धादिङ र चितवनमा ५०/५० लाख रुपैयाँ उपलब्ध गराइनेछ। जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए।
प्रदेश सरकारले बाढीमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई अन्त्येष्टिका लागि २५ हजार रुपैयाँ राहत दिने निर्णयसमेत गरेको छ। घरबारविहीन नागरिकका लागि अस्थायी बसोबास र भोजनको व्यवस्था मिलाइएको तथा अलपत्र यात्रुको उद्धारका लागि निःशुल्क बस सञ्चालन गरिएको मन्त्री केसीले बताए।
अवरुद्ध सडक तथा वैकल्पिक मार्ग सञ्चालनका लागि सफाइको काम अघि बढाइएको छ। आवश्यक स्थानमा बेलिब्रिज र झोलुंगे पुल निर्माणको प्रक्रिया पनि अघि बढाइएको प्रदेश सरकारले जनाएको छ।
उता, मुख्यमन्त्री किरण थापामगरले गोसाईंकुण्ड क्षेत्रमा रहेका १ हजार ५०० भन्दा बढी तीर्थयात्रीलाई सुरक्षित फर्काउन सवारीसाधनको व्यवस्था गरी सम्बन्धित निकाय परिचालन गरिएको जानकारी दिएका छन्।
प्रदेश सरकारले अहिले उद्धार, राहत, शव व्यवस्थापन र अवरुद्ध सडक सञ्चालनलाई तत्कालीन प्राथमिकतामा राखेको जनाएको छ।
प्रतिक्रिया