काठमाडौं, नदीजन्य पदार्थको ठेक्का प्रक्रियामा अनियमितता गरी सरकारी राजस्वमा हानी पुर्याएको आरोपमा दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित पाँच जना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६/७७ मा वडा नम्बर १ र २ अन्तर्गत विभिन्न स्थानबाट नदीजन्य पदार्थ सङ्कलन तथा निकासीको ठेक्का प्रक्रियामा मिलेमतो गरी राजस्व छुट दिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ठेकेदार कम्पनीसँग मिलेर ठेक्का सम्झौता गरिएको र त्यसअनुसार काम गराउँदा सरकारलाई प्राप्त हुनुपर्ने १ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको राजस्व गुम्ने अवस्था सिर्जना भएको निष्कर्षसहित मुद्दा दायर गरिएको हो।
अख्तियारको आरोपपत्रअनुसार सगुन कन्स्ट्रक्सनलाई अनुचित रूपमा राजस्व छुट दिँदा सरकारी सम्पत्तिमा हानी–नोक्सानी पुगेको ठहर गरिएको छ।
यस प्रकरणमा तत्कालीन गाउँपालिका अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्का, कम्पनीका प्रतिनिधि विरास पुन तथा सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि, बुटवललाई प्रतिवादी बनाइएको छ।
अख्तियारले उनीहरूबाट बिगो असुल गरी प्रचलित भ्रष्टाचार निवारण ऐनअनुसार सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया