काठमाडौं । स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ ।
नेपाल उद्योग परिसंघको अगुवाइमा सन् २०१४ देखि आयोजना हुँदै आएको सम्मेलन यस वर्ष नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुन लागेको हो ।
सम्मेलनमा लगानी बोर्डको कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाली युवा निर्माण व्यवसायी समुदाय सहआयोजकका रूपमा रहनेछन् ।
‘उत्थानशील भविष्यका लागि पूर्वाधार निर्माण’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनमा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार, लगानीका सम्भावना र परियोजना कार्यान्वयनका विषयमा छलफल गरिनेछ ।
सम्मेलनमार्फत सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न गरिएका नीतिगत तथा कानुनी सुधारबारे जानकारी गराउनेछ । विशेषगरी पूर्वाधार क्षेत्रमा स्वदेशी लगानीकर्तालाई प्रोत्साहित गर्ने सरकारको लक्ष्य रहेको छ ।
आयोजकका अनुसार सम्मेलनमा लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित तीन प्रमुख विषयमा प्रस्तुति तथा छलफल हुनेछ । जसमा ६९ वटा विधेयकमार्फत कानुनी सुधार तथा लगानी र विकासका लागि कानुनी संरचनाको आधुनिकीकरण, राष्ट्रिय पूर्वाधार खाका निर्माण तथा लगानीकर्ताले भोगिरहेका समस्या समाधानका लागि प्रभावकारी कार्यान्वयन संयन्त्रको विकास रहेका छन् ।
राष्ट्रिय पूर्वाधार खाकाअन्तर्गत मुलुकको विद्यमान पूर्वाधार अवस्था, प्रस्तावित योजना र आगामी १० वर्षको दीर्घकालीन दृष्टिकोण प्रस्तुत गरिनेछ ।
दुईदिने सम्मेलनमा करिब तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजना लगानीकर्तामाझ प्रस्तुत गर्ने तयारी गरिएको छ । हालसम्म २३ वटा परियोजना पहिचान भइसकेका छन् भने सम्मेलनको तयारीका क्रममा थप परियोजना पनि पहिचान तथा छनोट गरिने आयोजकले जनाएको छ ।
पहिचान गरिएका परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुका साथै सम्भाव्य परियोजनामा लगानी सम्झौता गर्ने लक्ष्यसमेत राखिएको छ ।
सम्मेलनमा पूर्वाधार, ऊर्जा, सहरी विकास, क्षेत्रीय यातायातलगायत १२ वटा विषयगत क्षेत्रमा छलफल हुनेछ । प्रत्येक विषयगत छलफलमा सम्बन्धित मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिले आफ्नो कार्यक्षेत्रभित्र भएका नीतिगत तथा कानुनी सुधार र लगानीका लागि पहिचान गरिएका परियोजनाबारे जानकारी गराउनेछन् ।
सरकार र निजी क्षेत्रबीच पूर्वाधार विकासका प्राथमिकता, लगानीका सम्भावना तथा परियोजना कार्यान्वयनका चुनौतीबारे साझा धारणा निर्माण गर्ने सम्मेलनको उद्देश्य रहेको छ ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ भने सम्मेलनको अध्यक्षता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गर्नेछन् ।
पूर्वाधार विकासमा आवश्यक नीतिगत तथा कानुनी सुधार, परियोजनाको प्रभावकारी कार्यान्वयन र सरकार तथा निजी क्षेत्रबीच सहकार्य विस्तारका लागि सम्मेलन महत्वपूर्ण मञ्च बन्ने आयोजकको विश्वास छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया