खोटाङ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीबारे खोटाङमा आयोजित पत्रकार सम्मेलनमा पार्टीभित्रको पछिल्लो विवाद चर्को रूपमा उठेको छ।
कोशी प्रदेश महामन्त्री भूपेन्द्र राईले गगन थापामाथि पार्टी ‘अपहरण’ गरेको आरोप लगाउँदै पार्टी सभापतिमाथि सांघातिक आक्रमण हुँदा स्वास्थ्यलाभको कामना र घटनाको भर्त्सना गर्नुपर्ने महामन्त्रीहरू त्यसतर्फ नलागी पार्टी कब्जाको दिशामा अघि बढेको दाबी गरे।
केन्द्रीय सदस्य सरस्वती बजिमयले तत्कालीन महामन्त्री गगन थापाले नियमित महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणको जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्न नसकेको र पार्टी बैठकमा पटक–पटक क्रियाशिल नविकरणको मिति थप्ने प्रस्ताव गरेको दाबी गरिन्। उनले विशेष महाधिवेशनको नाममा पार्टी कब्जा गर्ने प्रयास भएको आरोप लगाउँदै त्यसलाई कानुनी तथा राजनीतिक रूपमा अस्वीकार गरी नियमित १५औँ महाधिवेशनको तयारीमा जुटेको बताइन्।
यसैबीच, खोटाङ जिल्ला महाधिवेशन तयारी समितिका संयोजक रोजन राईले जारी गरेको प्रेस नोटमा नियमित प्रक्रियाअनुसार १५औँ महाधिवेशनको तयारी अघि बढिरहेको जनाइएको छ। प्रस्तावित कार्यतालिकाअनुसार असोज १५ देखि १८ गतेसम्म वडा, असोज २० गते गाउँ/नगरपालिका, असोज २३ गते प्रदेश सभा क्षेत्रीय र कार्तिक १५ गते जिल्ला अधिवेशन गर्ने तयारी छ।
जिल्ला निर्वाचन अधिकृत महाप्रसाद आचार्यको नेतृत्वमा अधिवेशन प्रक्रिया अघि बढिरहेको र खोटाङका ७९ वटै वडाका लागि मतदान अधिकृत तोकिसकिएको तयारी समितिले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया