खोटाङ। जनै पूर्णिमा मनाएर घर फर्किने क्रममा यात्रु बोकेको ट्र्याक्टर दुर्घटनामा पर्दा खोटाङमा १४ वर्षीय बालकले ज्यान गुमाएका छन्। दुर्घटनामा १९ जना घाइते भएका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित छेपेखोलाको ओरालोमा शुक्रबार दिउँसो करिब २ बजे भुलभुलेबाट दिक्तेलतर्फ फर्किँदै गरेको ना.५ त ४५५५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका १४ वर्षीय दिवश परियारको मृत्यु भएको हो। गम्भीर घाइते परियारलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा लफ्याङका ४५ वर्षीय सबिन तिरुवा, ९ वर्षीय योनिस विक, ३५ वर्षीया बिमला विकसहित १९ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला अस्पताल दिक्तेलमा प्रारम्भिक उपचार गरिएपछि थप उपचार आवश्यक देखिएका घाइतेलाई काठमाडौंको केएमसी अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए।
प्रहरीका अनुसार ट्र्याक्टर चालक ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ का २३ वर्षीय रिनिमा शेर्पा नियन्त्रणमा छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया