काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक झडपपछि गृह मन्त्रालयले प्रशासन र सुरक्षा संयन्त्रमा व्यापक हेरफेर गरेको छ। घटनाको जिम्मेवारी र सुरक्षाको प्रभावकारितामाथि प्रश्न उठेपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) देखि प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतसम्मलाई फिर्ता बोलाइएको छ भने प्रभावित क्षेत्रमा कर्फ्यु थप कडाइका साथ लागू गरिएको छ।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएर उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई खटाएको छ।
यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ। उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ भने त्यहाँ कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ।
सशस्त्र प्रहरीतर्फ पनि व्यापक फेरबदल गरिएको छ। सुनसरीमा कार्यरत एसपी श्यामकुमार कार्कीलाई प्रधान कार्यालय फिर्ता बोलाएर उनको ठाउँमा एसपी लवकुमार सापकोटालाई पठाइएको छ। कप्तानगञ्जस्थित सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाई उनको स्थानमा प्रधान कार्यालयका डीएसपी मदन नाथलाई खटाइएको छ।
सरकारले घटनाको सत्यतथ्य छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीद्वारा चलाइएको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरीसहित २४ जना घाइते भएका छन्।
घटनापछि स्थानीयवासीको आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सुरुमा देवानगञ्ज र हरिनगर गाउँपालिकाका मुख्य बजार क्षेत्रमा कर्फ्यु जारी गरेको थियो। आन्दोलन पूर्व–पश्चिम राजमार्गसम्म फैलिन थालेपछि प्रशासनले कर्फ्युको दायरा विस्तार गर्दै महेन्द्र राजमार्गको इनरुवा–कोशी ब्यारेज खण्डमा समेत अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरेको छ।
प्रशासनका अनुसार इनरुवा नगरपालिका–३ र ६ को सीमा (घोपली टोल) देखि पश्चिमतर्फ कोशी ब्यारेज पुलसम्म तथा महेन्द्र राजमार्गको दुवैतर्फ ५०० मिटर क्षेत्रभित्र अर्को सूचना जारी नभएसम्म कर्फ्यु कायम रहनेछ।
सोमबार दिनभर प्रदर्शनकारीहरूले लौकही–भोक्राहा र इनरुवा क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन गरेका थिए। कर्फ्यु जारी रहे पनि देवानगञ्ज र हरिनगरका विभिन्न स्थानमा प्रदर्शन जारी रहेपछि सुरक्षा अवस्था थप संवेदनशील बनेको थियो।
घटनापछि गृह मन्त्रालयले प्रशासनिक र सुरक्षा नेतृत्वमा एकैपटक व्यापक परिवर्तन गर्नुका साथै छानबिन समिति गठन र कर्फ्युको दायरा विस्तार गरेको छ। यसलाई सरकारले सुनसरीको अवस्थालाई नियन्त्रणमा लिन र घटनाको निष्पक्ष अनुसन्धान अघि बढाउन चालेको तत्कालीन कदमका रूपमा हेरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया