logo

२०८३ भाद्र ३० मंगलवार

logo
  • २०८३ भाद्र ३० मंगलवार
  • अन्तरिक्षमा अमेरिकाको हतियार तैनाथ गरेको खुलासा

    724Shares
    अन्तरिक्षमा अमेरिकाको हतियार तैनाथ गरेको खुलासा

    काठमाडौं,  लामो समयदेखि अनुमान र आशंका गरिँदै आएको विषयलाई पुष्टि गर्दै अमेरिकाले अन्तरिक्षको कक्षमै शत्रुतापूर्ण गतिविधि रोक्न तथा आफ्ना सैन्य संरचनाको रक्षा गर्न प्रयोग हुने ‘स्पेस–कन्ट्रोल वेपन्स’ तैनाथ गरेको सार्वजनिक रूपमा स्वीकार गरेको छ।

    अमेरिकी वायुसेना सचिव ट्रोय मिन्कले सोमबार आयोजित ‘एयर, स्पेस, साइबर कन्फरेन्स’मा अमेरिकासँग कक्षमा तैनाथ अन्तरिक्ष हतियार रहेको बताएका हुन्। उनका अनुसार यस्तो हतियारको उपस्थिति सार्वजनिक गर्नु अमेरिकाले पहिलोपटक जानाजानी गरेको स्वीकारोक्ति हो।

    मिन्कका अनुसार अन्तरिक्ष अमेरिकी सैन्य तथा आर्थिक सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र भएकाले सम्भावित शत्रुतापूर्ण गतिविधिको सामना गर्न अमेरिकाले त्यहाँ स्वतन्त्र रूपमा काम गर्न सक्ने क्षमता कायम राख्नुपर्ने आवश्यकता छ।

    उनले भनेका छन्, अमेरिकाले हवाई क्षेत्रमा मात्र नभई अन्तरिक्षमा पनि आफ्नो प्रभुत्व कायम राख्नुपर्ने भएकाले खतरा उत्पन्न हुँदा त्यसको सामना गर्न आवश्यक कदम चालिएको हो। तर उनले कक्षमा तैनाथ हतियारको वास्तविक क्षमता, प्रयोगको अवस्था वा परीक्षणसम्बन्धी थप विवरण भने सार्वजनिक गर्न अस्वीकार गरेका छन्।

    दुई प्रमुख प्रणालीको नाम सार्वजनिक

    मिन्कले अन्तरिक्षमा अमेरिकाले अघि बढाइरहेका दुई प्रमुख प्रणालीको नामसमेत उल्लेख गरेका छन्। तीमध्ये ‘स्पेस–बेस्ड इन्टरसेप्टर’ (SBI)‘स्पेस–बेस्ड एयर–मुभिङ टार्गेट इन्डिकेसन’ (SB-AMTI) छन्।

    SBI कार्यक्रमले अन्तरिक्षबाट मिसाइलजस्ता खतरालाई रोक्ने उद्देश्य राखेको छ। यो राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘गोल्डेन डोम’ उन्नत मिसाइल प्रतिरक्षा संरचनासँग जोडिएको कार्यक्रम हो। अमेरिकी अधिकारीका अनुसार SBI कार्यक्रम प्रारम्भिक ठेक्काबाट उडानका लागि तयार हार्डवेयरको चरणमा एक वर्षभन्दा कम समयमै पुगेको छ। प्रारम्भिक क्षमता सन् २०२८ सम्ममा तैनाथ गर्ने लक्ष्यसमेत राखिएको छ।

    त्यस्तै, SB-AMTI प्रणालीमार्फत अन्तरिक्षमा रहेका उपग्रहको प्रयोग गरी पृथ्वीमा हवाई गतिविधि तथा सम्भावित खतराको निगरानी गर्ने योजना छ। अमेरिकी स्पेस फोर्सले यसका लागि स्पेसएक्सलाई ४.२ अर्ब डलरको ठेक्का दिएको छ र पहिलो उपग्रह यही महिना प्रक्षेपण गर्ने तयारी रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

    चीन र रुससँग बढ्दो अन्तरिक्ष प्रतिस्पर्धा

    अमेरिकाले अन्तरिक्षमा आफ्ना सैन्य क्षमता विस्तार गरिरहँदा चीन र रुससँगको रणनीतिक प्रतिस्पर्धा पनि तीव्र बन्दै गएको छ।

    अमेरिकी स्पेस फोर्सका अपरेसन प्रमुख जनरल चान्स साल्ट्जम्यानले जुलाईमा चीनले लक्ष्य पहिचान गरी नष्ट गर्न सक्ने अन्तरिक्ष–आधारित हतियारसहितका क्षमता तीव्र रूपमा विकास गरिरहेको बताएका थिए। उनले चिनियाँ क्षमता अमेरिकाका लागि ‘उल्लेख्य खतरा’ भएको बताएका थिए।

    अमेरिकी अधिकारीहरूले चीन र रुस दुवैले अन्तरिक्षलाई भविष्यको सैन्य प्रतिस्पर्धाको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गरिरहेको बताउँदै आएका छन्। त्यसैको प्रतिक्रियास्वरूप अमेरिकाले पनि ‘काउन्टर–स्पेस’ क्षमता विस्तार गरिरहेको छ।

    अन्तरिक्षमा हतियार बढ्दा फोहोरको जोखिम

    अन्तरिक्षको सैनिकीकरण बढ्दै जाँदा सम्भावित कक्षीय भिडन्त र अन्तरिक्ष फोहोरको जोखिम पनि बढ्ने चिन्ता छ। विशेषगरी कुनै उपग्रह वा अन्य वस्तु नष्ट हुँदा त्यसबाट उत्पन्न हुने टुक्रा लामो समयसम्म कक्षमा रहन सक्ने भएकाले अन्य अन्तरिक्षयान तथा उपग्रहका लागि जोखिम सिर्जना हुन सक्छ।

    यसबीच अन्तरिक्षमा व्यावसायिक उपग्रहको संख्या पनि तीव्र गतिमा बढिरहेको छ। स्पेसएक्सको स्टारलिंक नेटवर्क मात्रै हजारौँ उपग्रहमा फैलिएको छ।

    अमेरिकाले भने आफ्नो नयाँ अन्तरिक्ष क्षमता मुख्यतः सम्भावित शत्रुतापूर्ण गतिविधिबाट सैन्य तथा रणनीतिक संरचनाको रक्षा गर्न आवश्यक रहेको दाबी गरेको छ। तर कक्षमै तैनाथ ‘स्पेस–कन्ट्रोल वेपन्स’ को वास्तविक क्षमता र तिनले कस्तो अवस्थामा कसरी काम गर्छन् भन्ने विषय अझै गोप्य राखिएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ३०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट