logo

२०८३ श्रावण ११ सोमबार

logo
  • २०८३ श्रावण ११ सोमबार
  • सुरक्षाकर्मीको गोली प्रहारमाथि सत्तारुढ सांसदकै प्रश्न

    721Shares
    सुरक्षाकर्मीको गोली प्रहारमाथि सत्तारुढ सांसदकै प्रश्न

    ‘छाती–पेट ताकेर किन गोली हानियो ?’ : कप्तानगञ्ज घटनामा लालविक्रम थापाले मागे निष्पक्ष छानबिन

      काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र आठ जना घाइते भएपछि घटनाले राजनीतिक रूप लिन थालेको छ। अझ सरकारलाई समर्थन गरिरहेको दलका सांसदले नै सुरक्षाकर्मीको भूमिकामाथि गम्भीर प्रश्न उठाएपछि घटनाको निष्पक्ष छानबिनको माग थप बलियो बनेको छ।

    सुनसरी–२ बाट निर्वाचित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापा घटनापछि राति नै घटनास्थल पुगेका थिए। त्यहाँ उनले प्रहरी अधिकारीहरूसँग घटनाबारे जानकारी लिँदै गोली प्रहारको शैलीमाथि नै प्रश्न उठाएका छन्।

    सांसद थापाले घाइतेहरूलाई लागेको गोलीको प्रकृति हेर्दा सामान्य भीड नियन्त्रणका लागि गरिएको फायरिङजस्तो नदेखिएको टिप्पणी गरेका छन्। उनका अनुसार अधिकांश घाइतेको छाती, पेटलगायत संवेदनशील अंगमा गोली लागेको जानकारी आफूले पाएको भन्दै यस्तो अवस्थामा गोली चलाउनु किन आवश्यक भयो भन्ने प्रश्न उठेको छ।

    उनले घटनापछि घाइते वा अन्य व्यक्ति कतै बेपत्ता भएको हुनसक्ने आशंकासमेत व्यक्त गर्दै त्यसतर्फ तत्काल खोजी गर्नुपर्ने बताएका छन्। “गोली लागेका कोही खाल्टोतिर वा अन्यत्र परेको त छैन भन्ने शंका लागेको छ, त्यसको पनि खोजी हुनुपर्छ,” उनले भनेका छन्।

    घटनाको प्रारम्भिक जानकारी लिन प्रहरी अधिकारीसँग छुट्टाछुट्टै कुरा गर्दा समेत स्पष्ट जवाफ नपाएको सांसद थापाको दाबी छ। प्रमुख जिल्ला अधिकारीले घटनाबारे पर्याप्त जानकारी नभएको बताएको र जिल्ला प्रहरी प्रमुखसँग सम्पर्क हुन नसकेको भन्दै उनले समन्वय र कमाण्ड प्रणालीमै प्रश्न उठाएका छन्।

    सांसद थापाले परिस्थितिले गोली चलाउनैपर्ने अवस्था थियो वा थिएन भन्ने विषय स्वतन्त्र रूपमा अनुसन्धान हुनुपर्ने बताएका छन्। उनका अनुसार राज्यका सुरक्षा निकायसँग हतियार हुनुको अर्थ नागरिकमाथि जथाभावी गोली चलाउने अधिकार होइन।

    उनले नयाँ सरकार गठन भएको प्रारम्भिक चरणमै युवामाथि भएको यस्तो गोली प्रहारले देशभर नकारात्मक सन्देश जाने चेतावनी पनि दिएका छन्। संयम अपनाउँदै घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिँदै उनले घाइतेहरूको जीवनरक्षालाई पहिलो प्राथमिकता बनाउन आग्रह गरेका छन्।

    कप्तानगञ्ज घटनामा एक जनाको मृत्यु भइसकेको छ भने आठ जना विभिन्न अस्पतालमा उपचाररत् छन्। थप तनाव फैलिन नदिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। अब भने घटनाको केन्द्रमा गोली चलाउनुपर्ने अवस्था वास्तवमै थियो कि थिएन, सुरक्षाकर्मीले बल प्रयोगको मापदण्ड पालना गरे कि गरेनन्, र घटनाको कमाण्ड कसरी सञ्चालन भयो भन्ने प्रश्नहरू आएका छन्।

    सरकारलाई समर्थन गरिरहेको दलकै सांसदले सार्वजनिक रूपमा यस्ता प्रश्न उठाएपछि कप्तानगञ्ज घटनाको निष्पक्ष र विश्वसनीय छानबिनप्रति दबाब अझ बढ्ने देखिएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण ११, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट