logo

२०८३ श्रावण १० आईतवार

logo
  • २०८३ श्रावण १० आईतवार
  • खोटाङमा भरुवा बन्दुक र बारुदसहित दुई पक्राउ

    808Shares
    खोटाङमा भरुवा बन्दुक र बारुदसहित दुई पक्राउ

    खोटाङ। खोटाङको साकेला गाउँपालिका–१ सेखुवाबाट प्रहरीले भरुवा बन्दुक, बारुद तथा हातहतियार बनाउन प्रयोग हुने सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार स्थानीय २८ वर्षीय उर्गेन राईले आफ्नै घरमा अवैध भरुवा बन्दुक लुकाइराखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उर्गेन राई र सोही स्थानका २४ वर्षीय दिपेन राईलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो।

    सोधपुछका क्रममा उर्गेन राईकै घरदेखि करिब ३० मिटर उत्तरतर्फ रहेको उनको जग्गाभित्र बनमाराको झाडीमा लुकाइराखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।

    प्रहरीले उक्त स्थानबाट पाँच थान फलामका टुक्रा, रातो प्लास्टिक र बट्टाभित्र राखिएको बारुदजस्तो देखिने कालो धुलो पदार्थ, साथै काटीसहितका तीन थान सलाईका प्याकेटसमेत बरामद गरेको छ। बरामद सामग्री हातहतियार निर्माण वा प्रयोगसँग सम्बन्धित हुन सक्ने आशंकामा परीक्षणका लागि सुरक्षित राखिएको प्रहरीले जनाएको छ।

    पक्राउ परेका उर्गेन राई र दिपेन राईविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा खोटाङ जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण ९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट