logo

२०८३ कार्तिक १८ मंगलवार

logo
  • २०८३ कार्तिक १८ मंगलवार
  • दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न कडा प्रतिबन्ध, पार्किङ शुल्क दोब्बर र ‘वर्क फ्रम होम’ अनिवार्य

    763Shares
    दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न कडा प्रतिबन्ध, पार्किङ शुल्क दोब्बर र ‘वर्क फ्रम होम’ अनिवार्य

    काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् । नयाँ व्यवस्थाअनुसार सवारीसाधनको पार्किङ शुल्क दोब्बर बनाउनुका साथै सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ ।

    अधिकारीहरूका अनुसार नयाँ उपायको मुख्य उद्देश्य सवारीसाधनबाट हुने उत्सर्जन न्यूनीकरण गर्नु हो ।

    नयाँ व्यवस्थाअनुसार तोकिएको उत्सर्जन मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई राजधानी प्रवेशमा रोक लगाइनेछ । त्यसैगरी, धुलो उड्ने गरी गरिने भत्काउने कार्य तथा खुला क्षेत्रमा हुने निर्माण गतिविधिमा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइएको छ ।

    मुख्यमन्त्री रेखा गुप्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा नोभेम्बर १ देखि दिल्लीको ‘शीतकालीन कार्ययोजना’ लागू गरिएको उल्लेख छ । योजनामा प्रदूषण नियन्त्रणका कडा उपाय, प्रभावकारी कार्यान्वयन तथा चौबिसै घण्टा निगरानीको व्यवस्था गरिएको जनाइएको छ ।

    विज्ञप्तिमार्फत दिल्लीवासीलाई सरकारी निर्देशन पालना गर्दै राजधानीको हावा स्वच्छ र स्वस्थ बनाउन सहयोग गर्न आग्रह गरिएको छ ।

    दिल्ली सरकारले पछिल्लो एक महिनादेखि नै प्रदूषण नियन्त्रणका विभिन्न उपाय अवलम्बन गर्दै आएको छ । यसक्रममा फोहोर जलाउन रोक लगाउनुका साथै कोइला र दाउरा प्रयोग गरी खाद्य परिकार तयार गर्ने सडक किनारका पसलहरूमा पनि प्रतिबन्ध लगाइएको छ ।

    यद्यपि, विगतका वर्षमा लागू गरिएका यस्तै उपायले नोभेम्बरदेखि जनवरीसम्म राजधानीलाई ढाक्ने बाक्लो धुवाँ र प्रदूषण नियन्त्रणमा अपेक्षित सफलता हासिल गर्न सकेका छैनन् । यस अवधिमा तापक्रम घट्दा प्रदूषक कणहरू जमिनको सतह नजिकै थुप्रिने गर्छन् ।

    दिल्लीमा वायु प्रदूषणका प्रमुख स्रोतमा सवारीसाधनबाट निस्कने धुवाँ, कोइलाबाट सञ्चालित विद्युत् केन्द्र, औद्योगिक गतिविधि, निर्माण कार्यबाट उड्ने धुलो तथा छिमेकी राज्यमा बाली भित्र्याएपछि खेतमा बाँकी रहेका अवशेष जलाउने कार्य रहेका छन् ।

    भारतको वातावरण मन्त्रालयका अनुसार दिल्लीमा जाडोयाममा हुने वायु प्रदूषणमा सवारीसाधनको योगदान २३ प्रतिशत छ । त्यस्तै, कृषि अवशेषलगायत जैविक पदार्थ जलाउँदा २० प्रतिशत र कोइलाबाट सञ्चालित विद्युत् केन्द्रसहितका उद्योगबाट करिब नौ प्रतिशत प्रदूषण हुने गरेको छ ।

    वायु प्रदूषणमा पाइने पीएम–२.५ नामक सूक्ष्म कणको मात्रा जाडोयामका मुख्य महिनामा प्रतिघनमिटर ३०० माइक्रोग्रामभन्दा बढी पुग्ने गरेको छ । फोक्सोको भित्री भागसम्म पुग्न सक्ने यी कण मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छन् । यस्तो मात्रा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको दैनिक सीमाभन्दा करिब २० गुणा बढी हो ।

    गत वर्ष दिल्लीमा पीएम–२.५ को मात्रा प्रतिघनमिटर ८४६ माइक्रोग्रामसम्म पुगेको थियो । यो विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा ५६ गुणा बढी हो ।

    आइतबार गरिएको मापनमा पीएम–२.५ को मात्रा प्रतिघनमिटर २०१ माइक्रोग्राम रहेको थियो । यो सुरक्षित सीमाभन्दा १३ गुणाभन्दा बढी हो । पछिल्ला केही दिनमा बेलाबेलामा भएको वर्षाका कारण प्रदूषणको स्तर केही घटेको हुन सक्ने अनुमान गरिएको छ ।

    ‘द ल्यान्सेट प्लानेटरी हेल्थ’ जर्नलमा सन् २०२४ मा प्रकाशित एक अध्ययनअनुसार सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण ३८ लाख मानिसको मृत्यु भएको थियो ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट