logo

२०८३ कार्तिक १८ मंगलवार

logo
  • २०८३ कार्तिक १८ मंगलवार
  • बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

    790Shares
    बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

    काठमाडौँ –  बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन्।

    आइतबार बिहान करिब ५ः४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट हुँदा अचानक आगलागी भएको प्रहरीले जनाएको छ। तीमध्ये प्रत्येक भट्टीको क्षमता २५ टन रहेको छ।

    आगलागीमा परी घाइते हुनेमा बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना रहेका छन्। घाइते सबैलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो। उनीहरूमध्ये दुई जनाको अवस्था थप उपचार आवश्यक देखिएपछि भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ।

    घाइते हुनेमा बाँकेको जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार, २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव रहेका छन्।

    त्यस्तै, भारतको बहराइच जिल्लास्थित कठौतियाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद घाइते भएका छन्।

    आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

    नेपालगञ्ज उपमहानगरपालिकाका दुईवटा र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    घाइते शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। आगलागीबाट भएको अन्य भौतिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट