काठमाडौं । प्रतिपक्षी दलहरूले मुलुकमा देखिएका समसामयिक राजनीतिक, न्यायिक तथा जनजीविकासँग सम्बन्धित विषयमा गम्भीर छलफल गर्न तत्काल संसद् बैठक आह्वान गर्न माग गरेका छन् ।
सोमबार नेपाली कांग्रेसले आह्वान गरेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद् बैठक यथाशीघ्र बोलाउनुपर्ने बताएका हुन् ।
उनका अनुसार बैठकमा बिचौलियासँग सम्बन्धित विषय, न्यायालयमाथि उठेका प्रश्न, प्रेस स्वतन्त्रतासँग जोडिएका संवेदनशील विषय, प्रहरीसँग सम्बन्धित घटना तथा प्रधानमन्त्री र उहाँको सचिवालयसँग जोडिएका विषयमा छलफल भएको थियो ।
आङ्देम्बेले सतहमा विभिन्न विषयमा चर्चा गर्नुभन्दा संसद्मा संस्थागत रूपमा छलफल गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए । संसद् अधिवेशन नबोलाई अध्यादेशमार्फत मात्रै राज्य सञ्चालनका विषय अघि बढाउँदा संसद्को गरिमा र आवश्यकतामाथि प्रश्न उठ्न सक्ने उनको भनाइ छ ।
उनले संसद् बैठक तत्काल बोलाएर उठेका विषयहरूको निरूपण गर्नुपर्नेमा जोड दिए ।
बैठकमा विभिन्न घटनाको छानबिन गर्न गठित समितिहरूको काम र निष्कर्षबारे पनि छलफल भएको आङ्देम्बेले जानकारी दिए । त्यस्तै, रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्का कारण विस्थापित नागरिकले अझै राहत र घरभाडा नपाएको विषय पनि बैठकमा उठेको उनले बताए ।
बढ्दो महँगी, विपद्पछिको पुनर्स्थापना तथा राज्यका महत्त्वपूर्ण निकायमाथि उठेका प्रश्नहरूको समाधान संसद्बाटै खोज्नुपर्ने प्रतिपक्षी दलहरूको धारणा रहेको उनको भनाइ छ ।
न्यायिक तथा अन्य विश्वसनीय निकायप्रति अविश्वास बढ्दै गएको उल्लेख गर्दै आङ्देम्बेले निष्पक्षता र पारदर्शितासम्बन्धी प्रश्नको समाधान संसद्भित्रै बहस गरेर खोज्नुपर्ने बताए । यस विषयमा सभामुखसँग समेत छलफल गर्ने उनले जानकारी दिए ।
बिचौलियासँग सम्बन्धित विषयमा सुरुदेखि नै जरासम्म पुगेर निष्पक्ष छानबिन गर्नुपर्ने कांग्रेसको धारणा रहेको उनले बताए । छानबिनका क्रममा संलग्न सबैको भूमिका सार्वजनिक गर्नुपर्ने भन्दै उनले यस प्रक्रियामा कांग्रेसले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका नेता एवं सांसद प्रवेश हमालले पनि जनजीविका, विपद् व्यवस्थापन, पुनर्निर्माण तथा राष्ट्रिय राजनीतिक विषयमा संसद्मा गम्भीर छलफल हुनुपर्ने बताए ।
उनले बिचौलियाहरूले राज्यसत्तामाथि प्रभाव जमाउन खोजेको विषयमा समेत संसद्मा बहस आवश्यक रहेको धारणा राखे । विपद्बाट प्रभावित नागरिकको समस्या समाधान, पुनर्निर्माण र जनताले पाउनुपर्ने राहतका विषयमा सरकारले गम्भीरता देखाउनुपर्ने उनको भनाइ छ ।
हमालका अनुसार प्रतिपक्षी दलहरूले संसद्को अधिवेशन आह्वान गरी जनताका समस्या, राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि उठेका प्रश्नहरूमा गम्भीर बहस गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया