logo

२०८३ कार्तिक १८ मंगलवार

logo
  • २०८३ कार्तिक १८ मंगलवार
  • सात वर्षपछि आफ्नै भवनबाट सेवा, अध्यक्ष राई भन्छन्– संरचना फेरिएर मात्र हुँदैन, सेवा पनि बदलिनुपर्छ

    1KShares
    सात वर्षपछि आफ्नै भवनबाट सेवा, अध्यक्ष राई भन्छन्– संरचना फेरिएर मात्र हुँदैन, सेवा पनि बदलिनुपर्छ

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सात वर्षपछि आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ। चारतले प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाले आइतबारदेखि अस्थायी टहराबाट सञ्चालन हुँदै आएको प्रशासनिक सेवा आफ्नै भवनमा सारेको हो।

    २७ वटा कोठा रहेको नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र उपाध्यक्ष अरुणा थापा मगरले आइतबार उद्घाटन गरे। भवन उद्घाटन गर्दै अध्यक्ष राईले नयाँ संरचना र भौतिक सुविधा थपिनु मात्र उपलब्धि नभएको भन्दै त्यसअनुसार जनताले पाउने सेवा र सुविधामा पनि परिवर्तन देखिनुपर्ने बताए।

    उनले प्रशासनिक भवन नयाँ र सुविधायुक्त हुँदैमा गाउँपालिकाको जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारीले समेत आफूलाई थप सेवामुखी बनाउँदै जनतालाई सहज र प्रभावकारी सेवा दिने गरी काम गर्नुपर्ने बताए। जनताले महसुस गर्ने गरी सेवा प्रवाहमा नयाँपन ल्याउनुपर्ने उनको भनाइ थियो।

    प्रशासनिक भवन निर्माणका लागि २०७७ साल असार ३० गते रविना–अविसा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। सम्झौताअनुसार २०८० साल असार २२ गतेसम्म भवन निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयभन्दा करिब ६ वर्ष २ महिना ढिला गरी निर्माण सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी मुकेश गेलालले जानकारी दिए।

    प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको भवनका लागि ४ करोड ९५ लाख ९७ हजार ७१५ रुपैयाँ लागत अनुमान गरिएको थियो। निर्माण कम्पनीले भने भ्याटसहित ३ करोड ७५ लाख ४९ हजार ३३२ रुपैयाँमा भवन निर्माण सम्पन्न गरेको हो।

    यसअघि गाउँपालिकाको प्रशासनिक सेवा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा निर्माण गरिएका अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो। स्थायी प्रशासनिक भवन निर्माण भएपछि गाउँपालिकाका सबै सेवा एउटै व्यवस्थित संरचनाबाट सञ्चालन गर्न सहज भएको छ।

    भवनका लागि आवश्यक फर्निचरसमेत खरिद गरिएको छ। फर्निचर खरिदका लागि इन्द्रलक्ष्मी कन्स्ट्रक्सनसँग ९३ लाख ६२ हजार २१० रुपैयाँमा सम्झौता गरिएको थियो। २०८० साल भदौ ३१ गते भएको सम्झौताअनुसार २०८१ साल जेठ २० गतेसम्म काम सम्पन्न गर्नुपर्नेमा ६४ लाख ३३ हजार ५५५ रुपैयाँ खर्च भएको सूचना अधिकारी गेलालले बताए।

    गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि वडा नम्बर ५ याङसोलाटारका स्थानीय होमप्रसाद राई, हरकराज राई, भीविन्द्र राई र इन्द्रप्रकाश राईले करिब सात रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका छन्।

    लामो समय अस्थायी संरचनाबाट सेवा दिँदै आएको गाउँपालिकाले अब आफ्नै स्थायी भवनबाट प्रशासनिक सेवा सुरु गरेको छ। भौतिक संरचना निर्माणको चरण पूरा भए पनि त्यसलाई जनताले सहज, छरितो र प्रभावकारी सेवा पाउने माध्यम बनाउने जिम्मेवारी अब जनप्रतिनिधि र कर्मचारीमाथि थपिएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट