logo

२०८३ आश्विन ४ आईतवार

logo
  • २०८३ आश्विन ४ आईतवार
  • सिन्धुपाल्चोक बलेफीमा गगन पक्षलाई झट्का, क्रियाशील सदस्यले बहिष्कार गरे वडा अधिवेशन

    751Shares
    सिन्धुपाल्चोक बलेफीमा गगन पक्षलाई झट्का, क्रियाशील सदस्यले बहिष्कार गरे वडा अधिवेशन

    सिन्धुपाल्चोक । नेपाली कांग्रेसभित्रको विवाद थप चर्किंदै जाँदा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ मा गगन थापा पक्षले आह्वान गरेको वडा अधिवेशन स्थानीय क्रियाशील सदस्यहरूले बहिष्कार गरेका छन्।
    पार्टीको आधिकारिकता र अधिवेशनसम्बन्धी विवाद कायमै रहेका बेला एकपक्षीय रूपमा अधिवेशन अघि बढाइएको भन्दै स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताहरूले अधिवेशनमा सहभागी हुन अस्वीकार गरेका हुन्।
    शनिबार वडा अधिवेशन गराउन बलेफी–८ पुगेका निर्वाचन अधिकृतसमेत क्रियाशील सदस्यहरू उपस्थित नभएपछि अधिवेशन सम्पन्न नगरी फर्किएको स्थानीय कांग्रेस नेताहरूको दाबी छ।
    ‘पार्टी एकताको प्रश्न टुंगो नलाग्दै एकलौटी अधिवेशन स्वीकार्य छैन’ भन्ने सन्देशसहित स्थानीय कार्यकर्ताले अधिवेशन बहिष्कार गरेको उनीहरूको भनाइ छ।
    बलेफी–८ मा देखिएको यो घटनाले कांग्रेसभित्रको विवाद नेतृत्व तहबाट अब वडा तहसम्मै पुगेको संकेत गरेको स्थानीय नेताहरू बताउँछन्। विशेषगरी सिन्धुपाल्चोकमा गगन पक्षको अधिवेशन प्रक्रियाप्रति स्थानीय तहबाटै असहमति देखिएपछि जिल्लाको कांग्रेस राजनीतिमा नयाँ तरंग पैदा भएको छ।
    बस्नेतको गृहजिल्लामै गगन पक्षलाई चुनौती
    पूर्वमन्त्री तथा कांग्रेस नेता मोहनबहादुर बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकमा नै गगन पक्षले अघि बढाएको वडा अधिवेशन बहिष्कार हुनुलाई स्थानीय कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
    बलेफी–८ का क्रियाशील सदस्यहरूको बहिष्कारले नेतृत्वले तय गरेको अधिवेशन कार्यक्रमलाई स्थानीय संगठनले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्नसमेत उठाएको छ।
    स्थानीय नेताहरूका अनुसार, वडा तहका क्रियाशील सदस्य नै सहभागी नभएपछि अधिवेशन प्रक्रिया अघि बढाउन कठिन भएको हो।
    कांग्रेसभित्रको विवाद समाधान गरेर मात्र महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा रहेका नेताहरूले बलेफी–८ को घटनालाई ‘एकपक्षीय अधिवेशनविरुद्ध स्थानीय तहबाट आएको राजनीतिक सन्देश’ का रूपमा व्याख्या गरेका छन्।
    यता गगन पक्षले भने पार्टीको निर्धारित अधिवेशन प्रक्रिया अघि बढाउने अडान राख्दै आएको छ। यसले कांग्रेसभित्रको विवाद अब केन्द्रीय नेतृत्वको बहसबाट वडा तहको संगठनात्मक टकरावतर्फ समेत प्रवेश गरेको देखाएको छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट