logo

२०८३ कार्तिक २१ शुक्रबार

logo
  • २०८३ कार्तिक २१ शुक्रबार
  • आज धनतेरस पर्व मनाइँदै, शूरु भयो तिहार

    856Shares
    आज धनतेरस पर्व मनाइँदै, शूरु भयो  तिहार

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज देशभर धनतेरस पर्व मनाइँदैछ ।

    धनतेरसका दिन भगवान् धन्वन्तरीको विशेष पूजा–आराधना गरिन्छ । साथै धनका देवता कुबेर र माता लक्ष्मीको पनि पूजा गर्ने धार्मिक परम्परा छ । कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वलाई कुबेरको दिनका रूपमा समेत लिने गरिन्छ ।

    धन, ऐश्वर्य र समृद्धिका लागि यस दिन कुबेरको पूजा गर्ने चलन छ । धनतेरसमा सुन, चाँदी, पित्तललगायत मूल्यवान् धातुका सामग्री, नयाँ भाँडाकुँडा तथा गरगहना खरिद गर्नु शुभ मानिन्छ । यसरी खरिद गरिएका सामग्रीलाई लक्ष्मीपूजाका दिन पूजा गर्ने प्रचलनसमेत रहेको छ ।

    धार्मिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएका थिए । भगवान् धन्वन्तरीलाई देवताका वैद्य मानिन्छ । उनी आरोग्य, स्वास्थ्य, आयु र तेजका देवताका रूपमा पूजिन्छन् । भगवान् विष्णुका २४ अवतारमध्ये धन्वन्तरीलाई एक अवतारका रूपमा लिइन्छ ।

    धनतेरसलाई घरमा सुख, समृद्धि र सम्पन्नता भित्र्याउने दिनका रूपमा पनि लिइन्छ । यस दिन विशेषगरी सुन, चाँदी र पित्तलका भाँडाकुँडा किन्ने चलन छ । भगवान् धन्वन्तरीलाई पित्तल प्रिय हुने धार्मिक विश्वासका कारण नेपाली बजारमा पित्तलका थाल, गिलास, कचौरा र कलशको खरिदबिक्री बढ्ने गरेको छ ।

    यसैगरी, धनतेरसका दिन कुबेर यन्त्र तथा श्री यन्त्र खरिद गरी घरको दराज वा व्यापारिक प्रतिष्ठानमा राख्दा वर्षभर आर्थिक अभाव नहुने विश्वास गरिन्छ । लक्ष्मी र गणेशको आकृति अंकित चाँदीका सिक्का किन्ने चलन पनि छ । यस्ता सामग्री घरमा राख्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ ।

    धनतेरसका दिन कुचो किन्ने परम्परासमेत छ । यस दिन कुचो घरमा भित्र्याउँदा आर्थिक अभाव नहुने र परिवारका सदस्यलाई रोगव्याधिले नसताउने विश्वास गरिन्छ । त्यस्तै, सवारीसाधन खरिदका लागि पनि यस दिनलाई शुभ मानिन्छ । तिहारका अवसरमा सवारीसाधन कम्पनीहरूले विशेष छुट तथा अफर ल्याउने भएकाले यस समयमा सवारीसाधनको बिक्रीसमेत बढ्ने गरेको छ ।

    धार्मिक जनविश्वासअनुसार आजदेखि भाइटीकासम्म व्यवसाय तथा व्यक्तिगत कारोबारमा उधारो दिनु अशुभ मानिन्छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज धनत्रयोदशी (धनतेरस) र यमदीपदान गरिनेछ भने शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक २१, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट