logo

२०८३ कार्तिक २६ बुधबार

logo
  • २०८३ कार्तिक २६ बुधबार
  • सरकारी बजेट नछोई विद्यालय जोगाउँदै साकेला, पहिरोपछि श्रमदानबाट रिटेनिङ वाल निर्माण

    1.4KShares
    सरकारी बजेट नछोई विद्यालय जोगाउँदै साकेला, पहिरोपछि श्रमदानबाट रिटेनिङ वाल निर्माण

    खोटाङ ।
    पहिरोले विद्यालय जोखिममा परेपछि सरकारी बजेट वा राहतको प्रतीक्षा नगरी स्थानीय समुदाय आफैं संरक्षण अभियानमा जुटेको छ। खोटाङको साकेला गाउँपालिका–१ डाँडागाउँस्थित सरस्वती आधारभूत विद्यालय जोगाउन गाउँपालिकाले सञ्चालन गरेको ‘साकेला श्रम अभियान’ अन्तर्गत सामूहिक श्रमदानमार्फत रिटेनिङ वाल निर्माण सुरु गरिएको हो।

    अविरल वर्षापछि गएको पहिरोले विद्यालयको पर्खाल भत्किँदा थप क्षतिको जोखिम बढेपछि गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्व तथा वडा नं. १ का अध्यक्ष हेमन राईको संयोजनमा ७० भन्दा बढी जनप्रतिनिधि, शिक्षक, अभिभावक र स्थानीयवासी श्रमदानमा सहभागी भएका छन्।

    अभियानका क्रममा सहभागीहरूले ढुङ्गा फोर्ने, ढुङ्गा बोक्ने, बालुवा ओसार्ने तथा रिटेनिङ वालका लागि जग तयार गर्ने काम गरेका छन्। जोखिमपूर्ण भूभागमा समेत स्थानीयको उत्साहजनक सहभागिताले विपद्का बेला समुदायको एकता नै सबैभन्दा ठूलो शक्ति भएको सन्देश दिएको छ।

    गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले विद्यालयको सुरक्षा केवल एउटा भवन जोगाउने विषय नभई भावी पुस्ताको भविष्य सुरक्षित गर्ने अभियान भएको बताए। “विद्यालयको सुरक्षा भनेको हाम्रो भविष्यको सुरक्षा हो। राष्ट्र निर्माण संसदबाट होइन, विद्यालयबाट सुरु हुन्छ। संविधानले देश चलाउँछ, तर शिक्षा र शिक्षकले देशको भविष्य निर्माण गर्छ।”

    उनले विपद् व्यवस्थापन सरकारको मात्र जिम्मेवारी नभई समुदायको साझा दायित्व भएको उल्लेख गर्दै यही सन्देश दिन गाउँपालिका र वडाले सरकारी बजेट प्रयोग नगरी श्रमदानमार्फत अभियान सञ्चालन गरेको बताए।

    वडा नं. १ का अध्यक्ष हेमन राईले विद्यालय पूर्ण रूपमा सुरक्षित नहुँदासम्म ‘साकेला श्रम अभियान’ नरोकिने स्पष्ट पारे। प्राकृतिक विपत्तिले सिर्जना गरेको चुनौतीलाई सामुदायिक एकताले अवसरमा बदल्न सकिने उल्लेख गर्दै उनले अभियानमा सहभागी सबै जनप्रतिनिधि, शिक्षक, अभिभावक, स्थानीयवासी तथा सहयोगीप्रति आभार व्यक्त गरे।

    अभियानमा विद्यालयका प्रधानाध्यापक सुनिला राई, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय महिला–पुरुषको उल्लेखनीय सहभागिता रहेको थियो।

    श्रमदानमा सहभागीहरूका लागि बेलायतमा बसोबास गर्दै आएका डाँडागाउँका समाजसेवी दीपक राईले खाजाको व्यवस्था गरेका थिए। विदेशमा रहेर पनि गाउँको शिक्षा, विकास र विपद्का बेला निरन्तर सहयोग गर्दै आएको उनको योगदानप्रति स्थानीयवासीले कृतज्ञता व्यक्त गरेका छन्।

     



    फास्ट न्युज    
  • २०८३ श्रावण १७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट