काठमाडौं । तिहारको अवसरमा खेलिने देउसी–भैलो कार्यक्रम अब चौबिसै घण्टा सञ्चालन गर्न पाइने भएको छ । गृह मन्त्रालयले सुरक्षित र मर्यादित रूपमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सोमबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै तिहारका अवसरमा देउसी–भैलो खेल्न समयको बन्देज नलगाउन भनेको हो । यद्यपि, कार्यक्रम सञ्चालन गर्दा सातवटा सर्त अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।
मन्त्रालयले देउसी–भैलो कार्यक्रमलाई स्वेच्छिक बनाउनुपर्ने स्पष्ट पारेको छ । कार्यक्रममा सहभागी हुने वा नहुने तथा दक्षिणा दिने वा नदिने निर्णय व्यक्तिको इच्छामा निर्भर हुनुपर्नेछ । कसैलाई पनि चन्दा वा दक्षिणा दिन दबाब दिन पाइने छैन ।
त्यस्तै, जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायबीच घृणा र द्वेष फैलाउने किसिमका गीत, संगीत, नृत्य तथा नारा प्रयोग गर्न रोक लगाइएको छ । सांस्कृतिक कार्यक्रमका नाममा अश्लील र अमर्यादित गतिविधि गर्नसमेत पाइने छैन ।
चाडपर्वका क्रममा जुवा तथा तास खेल्न नपाइने व्यवस्था पनि परिपत्रमा गरिएको छ । सार्वजनिक स्थानमा मदिरा सेवन गरेर होहल्ला गर्ने तथा मादक वा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने गतिविधि नगर्न मन्त्रालयले सचेत गराएको छ ।
यसैगरी, देउसी–भैलोका क्रममा अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा अन्य ध्वनि उपकरण प्रयोग गर्न नपाइने मन्त्रालयले जनाएको छ । अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा ध्वनि प्रदूषण हुन नदिन विशेष ध्यान दिनुपर्नेछ ।
तिहार नेपाली समाजको मौलिक सांस्कृतिक तथा धार्मिक पर्व भएकाले यसको परम्परा र सांस्कृतिक पक्षलाई संरक्षण गर्दै शान्तिपूर्ण वातावरणमा उत्सव मनाउने उद्देश्यले मन्त्रालयले यस्तो व्यवस्था गरेको जनाएको छ । तोकिएका सर्त पालना गरेर देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया