logo

२०८३ कार्तिक २७ बिहीबार

logo
  • २०८३ कार्तिक २७ बिहीबार
  • आज गोवर्धन पूजा, गोरु र हलिको पूजा गरी मनाइँदै तिहार

    952Shares
    आज गोवर्धन पूजा, गोरु र हलिको पूजा गरी मनाइँदै तिहार

    काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्धन पर्वत, बली राजा, गोरु तथा हलिको पूजा आराधना गरी मनाइँदैछ ।

    कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वत, बली राजा, गोरु र हलिको पूजा गरी सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ । यस दिन घरआँगन लिपपोत गरी गाईको गोबरबाट पर्वतको आकृति बनाई त्यसलाई गोवर्धन पर्वतका रूपमा पूजा गर्ने चलन छ ।

    द्वापर युगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको स्मरणमा गोवर्धन पूजा गर्ने परम्परा सुरु भएको धर्मशास्त्रमा उल्लेख छ ।

    त्यस्तै, भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वासअनुसार आज बली राजाको पनि पूजा आराधना गरिन्छ । यही विश्वासका आधारमा तिहारमा देउसी खेल्ने क्रममा ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा बसेको हो ।

    वर्षभर खेतबारी जोतेर मानव हितका लागि सेवा गर्ने गोरुलाई आज पूजा गरी मिठा-मिठा खानेकुरा खान दिने चलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन नन्दी अर्थात् साँढेका रूपमा समेत पूजा गर्ने परम्परा छ ।

    यसैगरी, वर्षभर गोरु जोत्ने हलि तथा अन्य कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाउने गरिन्छ । त्यसैले आजको दिनलाई हलितिहार वा अपभ्रंश हुँदै हलतिहारसमेत भन्ने गरिएको छ ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक २५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट