logo

२०८३ कार्तिक २३ आईतवार

logo
  • २०८३ कार्तिक २३ आईतवार
  • आज तिहारको मुख्य दिन लक्ष्मीपूजा, कुकुरतिहार र दीपावली मनाइँदै

    850Shares
    आज तिहारको मुख्य दिन लक्ष्मीपूजा, कुकुरतिहार र दीपावली मनाइँदै

    काठमाडौँ । हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज ऐश्वर्य, धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । यस वर्ष आजै नरक चतुर्दशी, कुकुरतिहार र लक्ष्मीपूजा अर्थात् दीपावली परेको छ ।

    सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने धार्मिक मान्यताअनुसार आज बिहानैदेखि घरआँगन सफा गरी लिपपोत गर्ने र साँझ दीपावली गरेर लक्ष्मीको स्वागत गर्ने गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायत स्थान सफा गरी दीप प्रज्वलन गरिन्छ ।

    कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मीपूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबिरले लक्ष्मीका पाइला बनाउने परम्परा छ । यसरी पाइला बनाएर लक्ष्मीलाई घरभित्र प्रवेश गर्ने बाटो देखाइन्छ । बाटोका विभिन्न स्थानमा केराको सुत्ला वा माटाका पालामा दीप प्रज्वलन गरी घरलाई झिलीमिली बनाइन्छ ।

    दीपावलीपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरी गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी तथा फूलमाला चढाएर विधिपूर्वक पूजा गर्ने चलन छ । लक्ष्मीपूजापछि कन्या तथा छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने प्रचलनसमेत रहेको छ ।

    आजको दिन घरमा लक्ष्मीको पूजा गरेपछि धनसम्पत्ति वा अन्य सामान घरबाहिर पठाउँदा लक्ष्मी बाहिरिने धार्मिक विश्वास छ । धर्मशास्त्रविद्का अनुसार सन्ध्याकालमा लक्ष्मीपूजा गरी मध्यरातमा घरका महिलाले नाङ्लो ठटाउँदै ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि छ ।

    तिहारअन्तर्गत आज कुकुरतिहार पनि मनाइँदैछ । मानव सभ्यताको विकासक्रमदेखि नै मानिससँग निकट सम्बन्ध राख्दै आएको बफादार र साहसी जनावर कुकुरलाई आज विशेष सम्मानका साथ पूजा गर्ने गरिन्छ । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्त्व दिइएको छ । यस दिन कुकुरलाई माला लगाइदिने र मनपर्ने खानेकुरा खुवाएर पूजा गर्ने परम्परा छ ।

    आज साँझ युवतीहरू समूह बनाएर घरघरमा भैलो खेल्ने गर्छन् । भगवान् विष्णुबाट यमपञ्चकका पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले सबैको भलो होस् भन्ने कामनासहित घरघरमा भैलो गाउन लगाएको सम्झनामा यो परम्परा सुरु भएको धार्मिक विश्वास छ । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भएर ‘भैलो’ बनेको बताइन्छ ।

    भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटीलगायत सामग्री दान दिने चलन छ । कात्तिक महिनामा गरिने दानलाई पुण्यदायी मानिने भएकाले भैलो खेल्न आउनेलाई दान दिँदा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

    लक्ष्मीपूजाका अवसरमा आज सहरबजार तथा गाउँघरमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्पराअनुसार कतिपय स्थानमा आजै बिहान गाईको पूजा गर्ने चलन पनि छ । यद्यपि, शास्त्रीय मान्यताअनुसार औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख छ ।

    चान्द्रमासअनुसार कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन तिहार मनाइन्छ । यस अवधिमा यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने धार्मिक विश्वास रहेकाले यी पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक २३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट