logo

२०८३ श्रावण १३ बुधबार

logo
  • २०८३ श्रावण १३ बुधबार
  • ‘सरकार कहाँ छ?’—सुनसरी तनावमा प्रधानमन्त्रीको सक्रियता खोज्दै विपक्षी दल

    715Shares
    ‘सरकार कहाँ छ?’—सुनसरी तनावमा प्रधानमन्त्रीको सक्रियता खोज्दै विपक्षी दल

    प्रचण्डको सर्वदलीय संवादमा जोड, गगन थापाको प्रश्न– ‘गोली चलाएर मात्रै राज्यको भूमिका पूरा हुँदैन’

    काठमाडौं। सुनसरीको देवानगञ्ज क्षेत्रमा उत्पन्न तनावलाई लिएर विपक्षी दलहरूले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी नेताहरूले प्रधानमन्त्रीले नै अग्रसर भएर सबै राजनीतिक दलसँग संवाद गर्नुपर्ने धारणा राखेका छन्।

    बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संवेदनशील परिस्थितिमा प्रधानमन्त्रीले सबै राजनीतिक दललाई विश्वासमा लिएर तत्काल सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताए।

    उनले विगतमा भूकम्प, बाढी–पहिरो जस्ता विपद् तथा संविधान निर्माणजस्ता जटिल राजनीतिक प्रक्रियामा दलहरूले राष्ट्रिय एकता र सहमतिको उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक रहेको बताए। सामाजिक सद्भाव, संयमता र आपसी विश्वास कायम राख्न सबै पक्षलाई उनले आग्रह गरे।

    यस्तै, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले घटनाको समन्वय र नेतृत्व गर्न नसकेको भन्दै प्रश्न उठाए। बैठकपछि सञ्चारकर्मीसँग उनले अहिलेको अवस्थामा सरकारको उपस्थिति प्रभावकारी नदेखिएको टिप्पणी गर्दै भने, ‘यतिखेर सरकार के गर्दैछ? कहाँ छ?’

    थापाले सरकारले सुरक्षा निकायको कारबाहीमा मात्र सीमित नहुने भन्दै संकट व्यवस्थापनमा राजनीतिक नेतृत्व देखाउनुपर्ने बताए। “सरकार बन्दुकको गोलीमा मात्र सीमित हुनु हुँदैन, सामाजिक सञ्जालको स्टाटसमा मात्रै देखिनु हुँदैन,” उनले भने, “सरकार अभिभावक मात्र होइन, नेतृत्वकर्ता पनि हो। नेतृत्वको सबैभन्दा ठूलो शक्ति सबै पक्षलाई विश्वासमा लिएर सहकार्य गर्न सक्नु हो।”

    उनले सुनसरीको घटनाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले नै तत्काल सर्वदलीय बैठक बोलाएर साझा धारणा र समाधानको पहल गर्नुपर्ने आवश्यकता औंल्याए।

    रास्वपाले सुनसरी घटनालगायत पछिल्ला विकसित राजनीतिक तथा सुरक्षा अवस्थाबारे साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक आयोजना गरेको हो।



    फास्ट न्युज    
  • २०८३ श्रावण १३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट