काठमाडौं। रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार भएको घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनप्रतिनिधिको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। पार्टीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचित जनप्रतिनिधिमाथि हुने यस्ता दुर्व्यवहारले विधिको शासन र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने भन्दै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको हो।
रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शनिबार जारी गरेको विज्ञप्तिमा साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा सांसद पौडेलमाथि भएको कालो मसी प्रहार तथा दुर्व्यवहारको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त घटनाको घोर भर्त्सना गरिएको छ।
विज्ञप्तिमा लोकतान्त्रिक समाजमा असहमति राख्ने, विरोध गर्ने र आफ्ना धारणा अभिव्यक्त गर्ने अधिकार सबै नागरिकलाई सुरक्षित भए पनि जनप्रतिनिधिमाथि हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि अवस्थामा स्वीकार्य नहुने उल्लेख गरिएको छ। यस्ता गतिविधिले सभ्य राजनीतिक अभ्यास, लोकतान्त्रिक संस्कार र विधिको शासनमाथि प्रत्यक्ष प्रहार गर्ने रास्वपाको ठहर छ।
पार्टीले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।
विज्ञप्तिमार्फत रास्वपाले लोकतान्त्रिक मूल्य–मान्यता, अहिंसात्मक राजनीतिक अभ्यास र विधिको शासनप्रतिको आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउँदै राजनीतिक असहमतिलाई हिंसात्मक वा अपमानजनक गतिविधिबाट व्यक्त गर्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनीसमेत दिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया