काठमाडौं, नेपाली कांग्रेसको अनुशासन समितिका संयोजकसमेत रहेका पूर्व राज्यमन्त्री तारामान गुरुङ ठगीसम्बन्धी उजुरीमा पक्राउ परेर आठ दिन हिरासतमा बसेपछि रिहा भएको खुलेको छ।
काठमाडौंमा घर मिलाइदिने भन्दै तीन जनाबाट बैना रकम लिएको तर प्रतिबद्धताअनुसार घर उपलब्ध नगराएको र रकम फिर्ता गर्न दिइएका चेकसमेत बाउन्स भएको उजुरी परेपछि प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी भदौ १८ गते पक्राउ परेका थिए भने भदौ २६ गते रिहा भएका हुन्।
६२ वर्षीय गुरुङविरुद्ध सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका रिन्जाङ्बु शेर्पा, दोर्जे शेर्पा र सोनुर्पु शेर्पाले छुट्टाछुट्टै जाहेरी दिएका थिए। प्रहरीका अनुसार तीन जनाबाट गुरुङले कुल ७१ लाख ५० हजार रुपैयाँ लिएको देखिएको छ।
जाहेरीअनुसार रिन्जाङ्बु शेर्पासँग १४ लाख, दोर्जे शेर्पासँग ३३ लाख ५० हजार र सोनुर्पु शेर्पासँग २४ लाख रुपैयाँ गुरुङले लिएका थिए। तीनै जनासँग काठमाडौंमा घर मिलाइदिने आश्वासन दिएर विभिन्न मितिमा बैना रकमका रूपमा पैसा लिएको दाबी गरिएको छ।
तर रकम लिएपछि घर उपलब्ध नगराएको र रकम फिर्ता गर्ने क्रममा गुरुङले दिएको चेकसमेत बाउन्स भएको पीडितहरूको जाहेरीमा उल्लेख छ। त्यसपछि उनीहरूले आफूहरू ठगीमा परेको भन्दै प्रहरीमा उजुरी दिएका थिए।
काठमाडौं जिल्ला अदालतले भदौ १६ गते गुरुङलाई पक्राउ गर्न अनुमति दिएको थियो। अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि जाहेरवालाको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार हिरासतमा रहेका गुरुङले तीनै जना जाहेरवालालाई रकम फिर्ता गरेपछि उनीहरूबीच जिल्ला सरकारी वकिल कार्यालयमा मिलापत्र भएको थियो। त्यसपछि उनलाई रिहा गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार पीडित र गुरुङबीच मिलापत्र भएपछि कानुनी प्रक्रियाअनुसार उनलाई हिरासतबाट छाडिएको हो। बैंकिङ कसुरसम्बन्धी घटनामा जाहेरवालाले दाबी गरेको रकम बुझाएपछि कानुनबमोजिम रिहाइको प्रक्रिया अघि बढ्न सक्ने प्रहरीको भनाइ छ।
गुरुङ पक्राउ परेको विषय सार्वजनिक भएपछि नेपाली कांग्रेसभित्र समेत उनको भूमिकामाथि प्रश्न उठेको थियो। उनी कांग्रेस अनुशासन समितिको संयोजकको जिम्मेवारीमा थिए। पक्राउ प्रकरणपछि गुरुङले नैतिकताका आधारमा उक्त पदबाट राजीनामा दिइसकेका छन्।
यससँगै कांग्रेसको अनुशासन हेर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेका नेतामाथि नै ठगीसम्बन्धी उजुरीमा पक्राउ परेको घटना पार्टीभित्र आलोचनाको विषय बनेको थियो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया