काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएका विवाद तथा समस्यामा कांग्रेस संलग्न नहुने स्पष्ट पारेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले रास्वपाभित्रका आन्तरिक समस्यामा कांग्रेसको कुनै रुचि नरहेको बताएका हुन् । उनले रास्वपाभित्रको विवादमा कांग्रेसले न हस्तक्षेप गर्ने, न कुनै गतिविधिमा सहभागी हुने स्पष्ट पारे ।
थापाले सरकार सञ्चालनमा सरकारको आफ्नै जिम्मेवारी भएजस्तै प्रतिपक्षी दलहरूको पनि छुट्टै भूमिका र जिम्मेवारी हुने उल्लेख गरे । प्रतिपक्षी दलहरूबीच गठबन्धन बनाएर सरकारलाई विरोध गर्ने पक्षमा कांग्रेस नरहेको भन्दै उनले सरकारका गलत कामको प्रतिरोध गर्ने र आवश्यक विषयमा सहकार्य गर्ने नीति पार्टीले लिने बताए ।
उनले सरकारको कामकारबाहीमाथि टिप्पणी गर्न थालेपछि आफूविरुद्ध अडियो सार्वजनिक गर्ने तथा विभिन्न प्रचारबाजी गर्ने गतिविधि भइरहेको दाबीसमेत गरे । यस्ता गतिविधिविरुद्ध आफू पहिलेदेखि लड्दै आएको र आगामी दिनमा पनि निरन्तर सामना गर्न तयार रहेको थापाले बताएका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया