काठमाडौं, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर अघि बढाउन सबै नेता–कार्यकर्ताको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठकको दोस्रो दिन बिहीबार बैठक प्रारम्भ गर्दै प्रतिष्ठान प्रमुखसमेत रहेका शर्माले पार्टी एकतालाई मजबुत बनाउन सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिए।
उनले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने जिम्मेवारी नेतृत्वको मात्रै नभई पार्टीका सबै तहका नेता तथा कार्यकर्ताको रहेको बताए।
सो अवसरमा शर्माले कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको विचार र योगदानलाई पार्टीले निरन्तर स्मरण र आत्मसात् गर्नुपर्ने बताए। गिरीको बहुआयामिक व्यक्तित्वबाट कांग्रेसले अझै धेरै कुरा सिक्न बाँकी रहेको उनको भनाइ थियो।
गिरीको व्यक्तित्व र विचारको गहिराइलाई समुद्रसँग तुलना गर्दै शर्माले भने, “उहाँ एक समुद्रजस्तै हुनुहुन्थ्यो । समुद्रमा पौडनेले बाहिर निस्कँदा जति पानी लिएर निस्कन्छ, हामी पनि सायद त्यति मात्र लिइरहेका छौँ।”
उनले गिरीका विचार, चिन्तन र योगदानलाई कांग्रेसको वैचारिक यात्रासँग जोडेर अघि बढाउनुपर्ने बताए।
शर्माले पार्टीभित्रको एकतालाई प्राथमिकतामा राख्दै वैचारिक बहस, प्रशिक्षण र संगठन सुदृढीकरणमार्फत कांग्रेसलाई थप मजबुत बनाउनुपर्ने धारणा राखेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया