logo

२०८३ मंसिर ९ मंगलवार

logo
  • २०८३ मंसिर ९ मंगलवार
  • अयोध्या–जनकपुरधाम जोड्ने ‘सरयू–कमला एक्सप्रेस’को स्वागतका लागि भव्य तयारी

    769Shares
    अयोध्या–जनकपुरधाम जोड्ने ‘सरयू–कमला एक्सप्रेस’को स्वागतका लागि भव्य तयारी

    जनकपुरधाम । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म सञ्चालन हुने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’को स्वागतका लागि जनकपुरधाममा विशेष तयारी गरिएको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यममार्फत रेल सेवाको उद्घाटन गरेका थिए ।

    उद्घाटनपछि सोमबार दिउँसो १२:३० बजे अयोध्याधामबाट प्रस्थान गरेको रेल मंगलबार बिहान १० बजे जनकपुरधाम आइपुग्ने कार्यतालिका रहेको छ । रेलको स्वागतका लागि जनकपुरधाममा सांस्कृतिक कार्यक्रम, परम्परागत झाँकी तथा विशेष स्वागत समारोह आयोजना गर्ने तयारी गरिएको छ ।

    करिब ६०४ किलोमिटर दूरी तय गर्ने उक्त रेल भारतको उत्तर प्रदेश र बिहार हुँदै जनकपुरधामसम्म पुग्नेछ । यात्राका क्रममा रेलले मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका प्रमुख स्टेसनमा रोक्नेछ ।

    १७ वटा डिब्बा रहेको रेलमा शयनयान, वातानुकूलित तेस्रो श्रेणी, वातानुकूलित तेस्रो श्रेणी इकोनोमी तथा वातानुकूलित दोस्रो श्रेणीका सुविधा उपलब्ध छन् । उक्त रेल सेवा सातामा एकपटक सञ्चालन हुने जनाइएको छ ।

    भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने यस रेल सेवाले नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ । साथै, यसले धार्मिक पर्यटन प्रवर्द्धन, तीर्थयात्रीको आवागमन सहज बनाउन तथा दुई देशबीचको जनस्तरको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।



    फास्ट न्युज    
  • २०८३ मंसिर ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट