logo

२०८३ मंसिर ८ सोमबार

logo
  • २०८३ मंसिर ८ सोमबार
  • नेपाल–भारत सम्बन्धलाई समयअनुकूल सुदृढ बनाउन प्रधानमन्त्री शाहको जोड

    853Shares
    नेपाल–भारत सम्बन्धलाई समयअनुकूल सुदृढ बनाउन प्रधानमन्त्री शाहको जोड

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पारस्परिक सम्मान, विश्वास र सद्भावका आधारमा थप सुदृढ बनाउनुपर्ने बताएका छन् । उनले दुई देशबीचको सहकार्य र साझेदारीलाई समयअनुकूल विस्तार गर्दै साझा समृद्धिको लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिएका छन् ।

    प्रधानमन्त्री पद सम्हालेपछि आफ्नो पहिलो द्विपक्षीय भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शाहले यस्तो धारणा व्यक्त गरेका हुन् ।

    भगवान् पशुपतिनाथ, माता जानकी र करुणामय मच्छिन्द्रनाथको आशीर्वाद तथा नेपाली जनताको माया र सद्भावसहित भारतको राजकीय भ्रमणमा आएको उल्लेख गर्दै उनले न्यानो आतिथ्य र निमन्त्रणाका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरे ।

    नेपाल–भारत सम्बन्धको मूल आधार दुवै देशका जनता रहेको बताउँदै प्रधानमन्त्री शाहले दुई देशबीचको आत्मीय सम्बन्धलाई सामान्य शब्दमा व्याख्या गर्न नसकिने बताए ।

    ‘नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ । यो यस्तो आत्मीय निकटता हो, जसलाई शब्दको सीमिततामा बाँध्न सकिँदैन,’ उनले भने ।

    भारतलाई नेपालको विश्वासिलो छिमेकीका रूपमा चित्रण गर्दै शाहले प्राकृतिक विपत्ति र कठिन परिस्थितिमा भारतले निरन्तर सहयोग गर्दै आएको स्मरण गरे । विपद्का समयमा प्राप्त सहयोगका लागि उनले भारत सरकार र त्यहाँका जनताप्रति धन्यवाद व्यक्त गरे ।

    प्रधानमन्त्री शाहले हालै सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्ताले नेपाल–भारतबीचको शताब्दीयौँ पुरानो सम्बन्धलाई थप मजबुत र समयसापेक्ष बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    उनका अनुसार वार्तामा द्विपक्षीय सम्बन्धका विभिन्न आयामबारे गहन छलफल हुनुका साथै सहकार्यका महत्त्वपूर्ण क्षेत्रमा साझेदारीका सहमति भएका छन् । त्यसैगरी, विभिन्न विकास परियोजनाको उद्घाटन तथा शिलान्याससमेत गरिएको छ ।

    वार्तामा भएका समझदारी र अघि बढाइएका परियोजनाले व्यवहारमै सकारात्मक परिणाम दिनुपर्नेमा जोड दिँदै उनले त्यसको प्रतिफल दुवै देशको आर्थिक तथा सामाजिक समृद्धिमा देखिनुपर्ने बताए ।

    ‘आज हामीले गरेका समझदारी र अघि बढाएका परियोजनाहरूको प्रतिफल समृद्धिका रूपमा देखिनुपर्छ,’ प्रधानमन्त्री शाहले भने ।

    नेपाल–भारतबीच हासिल भएका उपलब्धि र आगामी सहकार्यका प्राथमिकताबारे संयुक्त दृष्टिकोणपत्र (जोइन्ट भिजन डकुमेन्ट) तथा संयुक्त प्रेस विज्ञप्तिमार्फत विस्तृत जानकारी सार्वजनिक गरिने उनले बताए ।

    यसै अवसरमा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । उनले भारतीय नागरिकलाई पनि हिमालयको काखमा रहेको नेपाल भ्रमण गर्न आग्रह गरे ।

    मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरस्थित माता जानकीको मन्दिर, जीवित देवी कुमारी तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायत धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेका स्थलहरूको भ्रमण गर्न उनले भारतीय जनतालाई निमन्त्रणा दिए ।

    सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको मित्रता अझ प्रगाढ, विश्वासपूर्ण र समृद्धिमुखी बन्नुपर्ने धारणा व्यक्त गरे ।

    ‘नेपाल र भारतबीचको मित्रता यस्तो होस्, जहाँ विश्वास हिमालझैँ होस्, सहकार्य नदीझैँ अविरल बगोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाशमुनि फक्रियोस्,’ उनले भने ।

    दुवै देशका नागरिकको सुख, शान्ति र समृद्धिको कामना गर्दै प्रधानमन्त्री शाहले आफ्नो सम्बोधन टुंग्याएका थिए ।



    फास्ट न्युज    
  • २०८३ मंसिर ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट