काठमाडौं – नेपाल प्रहरीले सामाजिक सद्भाव र सार्वजनिक शान्ति खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा मधेश प्रदेशका पाँच जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा धनुषाबाट सबैभन्दा बढी १९ जना, सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना र पर्साबाट १ जना रहेका छन्।
प्रहरीले पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत उत्तेजक सामग्री प्रसारण गर्ने, अफवाह फैलाउने, साम्प्रदायिक सद्भाव भड्काउने अभिव्यक्ति दिने तथा स्थानीय स्तरमा तनाव बढाउने गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।
विशेषगरी सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि देशका विभिन्न संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिएको छ। मधेशका जिल्लाहरूमा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनले संयुक्त रूपमा निगरानी तथा गस्ती बढाएका छन्।
प्रहरीले कानुनविपरीत सामाजिक सद्भावमा असर पर्ने गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनी कारबाही जारी रहने स्पष्ट गरेको छ। साथै, सामाजिक सञ्जालमा अपुष्ट सूचना, भ्रामक सामग्री वा द्वेष फैलाउने अभिव्यक्ति साझा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
यसअघि गृह मन्त्रालयले पनि सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीति अपनाउने जनाएको थियो। सुरक्षा निकायले पछिल्ला घटनालाई लक्षित गर्दै सम्भावित संवेदनशील क्षेत्रहरूमा निगरानी थप सुदृढ बनाएको जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया