काठमाडौं । अविरल वर्षापछि आएको पहिरोका कारण बाजुरामा कर्णाली करिडोर अवरुद्ध भएको छ भने दार्चुलामा पहिरोका कारण जोखिममा परेको चौलानी नदीको बहाव सामान्य अवस्थामा फर्किएको छ ।
बाजुराको जगन्नाथ गाउँपालिका–५ भुकाह खोलामा पहिरो खसेपछि कर्णाली करिडोर अवरुद्ध भएको हो । पहिरोका कारण गन्तव्यतर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार हिमाली गाउँपालिका–७ बाधु र जगन्नाथ गाउँपालिका–५ मा माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको थियो । बाधुमा आएको पहिरो पीएस कन्स्ट्रक्सनको जेसीबी प्रयोग गरी हटाएर सडक सञ्चालनमा ल्याइए पनि भुकाह खोलाको पहिरो भने हटाउन बाँकी छ ।
सडक अवरोध खुलाउन प्रहरीचौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
यता, दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोका कारण केही समय आधा थुनिएको चौलानी नदीको बहाव भने अहिले सामान्य अवस्थामा रहेको प्रशासनले जनाएको छ ।
शुक्रबार पहिरो खसेर नदीको बहाव आधा थुनिएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको थियो । तर, शनिबार नदीमा पानी आफ्नै गतिमा निकास भइरहेको र ठूलो उतारचढाव नदेखिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए ।
उनका अनुसार पहिरो खस्ने क्रम पनि रोकिएको छ र तत्काल थप जोखिम देखिएको छैन । नदी किनारमा केही गेग्य्रान थुप्रिए पनि त्यसले नदीको बहावमा उल्लेख्य असर नपारेको उनले बताए ।
पहिरोका कारण जोखिममा रहेका आठ घरपरिवारलाई शुक्रबार नै सुरक्षित स्थानमा सारिएको छ । उनीहरूमध्ये केही आफन्तको घरमा बसेका छन् भने स्थानीय वडा कार्यालयले आवश्यक व्यवस्थापन गरिरहेको प्रशासनले जनाएको छ । घटनामा हालसम्म मानवीय तथा पशुचौपायाको क्षति भएको छैन ।
तर, पहिरोका कारण अपिहिमाल बेसक्याम्प जाने पैदलमार्ग भने अवरुद्ध छ । उक्त क्षेत्रमा मोटरबाटोसमेत नपुगेकाले आवतजावतका लागि पैदलमार्ग नै प्रयोग हुँदै आएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पहिरो खसेको स्थान सदरमुकाम खलंगाबाट करिब १६–१७ घण्टाको पैदल दूरीमा पर्छ । पालिकाको केन्द्रसम्म समेत सडक नपुगेको उक्त क्षेत्रमा प्रहरी टोली भने घटनास्थलमा पुगिसकेको छ ।
लगातारको वर्षापछि बाजुरामा सडक अवरुद्ध हुनु र दार्चुलामा नदी थुनिने जोखिम देखिनुले कर्णाली तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षासँगै पहिरो र नदीको जोखिम कायमै रहेको देखाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया