logo

२०८३ कार्तिक ५ बुधबार

logo
  • २०८३ कार्तिक ५ बुधबार
  • आज बडादशैँको मुख्य दिन, बिहान १०ः२६ बजे उत्तम टीका साइत

    718Shares
    आज बडादशैँको मुख्य दिन, बिहान १०ः२६ बजे उत्तम टीका साइत

    काठमाडौं । बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर दशैँ मनाइँदै छ। आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमीमा परिवारका ज्येष्ठ तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ। उत्तम साइत खोज्नेहरूका लागि समितिले बिहान १० बजेर २६ मिनेटको समय निर्धारण गरेको छ।

    धार्मिक परम्पराअनुसार दुर्गा विसर्जनपछि कलशको जललाई पवित्र मानेर अभिषेक गरिन्छ। त्यसपछि इष्टदेवता र कुलदेवतालाई सम्झँदै जमरा काट्ने तथा कुलदेवता र पितृदेवताका नाममा टीका चढाउने चलन छ। कतिपय स्थानमा घरको मूल ढोकामाथि टीका लगाउने परम्परा पनि रहेको छ।

    गुरुपुरोहितबाट टीका लगाउने चलन भएका परिवारमा उनीहरूबाट टीका ग्रहण गरिन्छ। त्यसपछि परिवारका ज्येष्ठ तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने परम्परा छ। दशैँको टीका पारिवारिक भेटघाट, आपसी सद्भाव र आशीर्वाद साटासाट गर्ने अवसरका रूपमा पनि लिइन्छ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाइदिने व्यक्ति पूर्व फर्किने र टीका थाप्ने व्यक्ति पश्चिम फर्किने जनाएको छ। धार्मिक मान्यताअनुसार दक्षिण दिशा पितृकर्मसँग सम्बन्धित रहेकाले दशैँको टीका लगाउँदा दक्षिण फर्किने चलन छैन।

    यद्यपि, टीका लगाउन उत्तम साइतको प्रतीक्षा गर्नैपर्ने बाध्यता नरहेको विज्ञहरूले बताएका छन्। बिहान घाम झुल्केपछि विधिपूर्वक मान्यजनबाट टीका ग्रहण गर्न सकिने र टाढा रहेका आफन्तकहाँ टीका थाप्न जान पनि साइतका कारण दुविधा मान्नुपर्ने अवस्था नरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईले बताएका छन्।

    कामको बाध्यता, यात्रा वा अन्य कारणले निर्धारित उत्तम साइतमा टीका लगाउन नसक्नेहरूले पनि आफूलाई अनुकूल हुने समयमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्न सक्ने धार्मिक परम्परा रहेको छ। त्यसैले दशैँको टीका साइतकै कारण छुट्ने चिन्ता लिनुभन्दा पारिवारिक भेटघाट, सद्भाव र आशीर्वादलाई महत्त्व दिनुपर्ने देखिन्छ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक ५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट