खोटाङ। वर्षाका कारण क्षतिग्रस्त बनेका सडकहरू मर्मत गर्न दिप्रुङ चुइचुम्मा गाउँपालिकाले काठ व्यवसायीसँग सहकार्य गर्ने भएको छ। गाउँपालिकाको पहलमा पालिकाभित्र सञ्चालनमा रहेका काठ व्यवसायीहरूले सडक मर्मतका लागि ट्र्याक्टर उपलब्ध गराउने सहमति गरेका हुन्।
गाउँपालिका अध्यक्ष लोकेन्द्र राईका अनुसार लगातारको वर्षा, बाढी र पहिरोका कारण पालिकाभित्रका अधिकांश सडक बिग्रिएका छन्। गाउँपालिकाको बजेट मात्रै पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर सडक मर्मत अभियान अघि बढाइएको उनले बताए।
अध्यक्ष राईका अनुसार आगामी साउन १५ गतेदेखि सडक मर्मत कार्य सुरु गरिनेछ। सहमतिअनुसार प्रत्येक काठ व्यवसायीले एक–एक वटा ट्र्याक्टर उपलब्ध गराउनेछन्। गाउँपालिकाले एक्साभेटरको व्यवस्था गर्नेछ भने ट्र्याक्टरका लागि आवश्यक इन्धन तथा श्रमिकको खाना–खाजा लगायतको खर्च पनि गाउँपालिकाले नै व्यहोर्नेछ।
उनले सडक व्यवसायीका सवारीसाधनका लागि मात्र नभई सर्वसाधारणको दैनिक आवागमनका लागि पनि अत्यन्त आवश्यक भएकाले तत्काल मर्मत गर्न लागिएको बताए।
यस विषयमा मंगलबार गाउँपालिका, काठ व्यवसायी तथा सबै वडाका वडाध्यक्षहरूको संयुक्त बैठक बसेको थियो। बैठकमा व्यवसायीहरूले गाउँपालिकाको प्रस्तावप्रति पूर्ण समर्थन जनाएका थिए। सहमतिपत्रमा गाउँपालिका अध्यक्ष र व्यवसायीबीच समझदारी हुँदा सबै वडाध्यक्षहरू पनि साक्षीका रूपमा उपस्थित थिए।
गाउँपालिकाले यस सहकार्यबाट वर्षाले अवरुद्ध बनेका सडकहरू छिट्टै सञ्चालनमा आउने, सर्वसाधारणको आवागमन सहज हुने तथा स्थानीय व्यवसायसमेत थप व्यवस्थित हुने अपेक्षा गरेको छ।
प्रतिक्रिया