logo

२०८३ मंसिर ४ बिहीबार

logo
  • २०८३ मंसिर ४ बिहीबार
  • काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिन विद्युत् आपूर्ति बन्द हुने

    811Shares
    काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिन विद्युत् आपूर्ति बन्द हुने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

    प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा मंसिर ३ गतेदेखि १४ गतेसम्म विद्युत् वितरण लाइन भूमिगत गर्ने काम हुने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।

    प्राधिकरणका अनुसार सम्बन्धित क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

    निर्धारित कार्यतालिकाअनुसार मंसिर ३ र ६ गते बलम्बु तथा थानकोटअन्तर्गत बलम्बु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। त्यस्तै, मंसिर ४ गते धोबीखोला तथा बत्तीसपुतलीअन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म र मंसिर ५ गते कालिमाटी तथा बाफलअन्तर्गत स्युचाटार पुल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

    यसैगरी, मंसिर ७ गते कोटेश्वर तथा इमाडोलअन्तर्गत ईटीटीआर ८ र ९ क्षेत्रमा, मंसिर ८ गते बलम्बु खोला पुल र नैकाप क्षेत्रमा तथा मंसिर ९ गते कोटेश्वरअन्तर्गत ईटीटीआर २६ए र ईटीटीआर ४ क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिनेछ।

    मंसिर १० गते शिफल ग्राउन्डदेखि कालोपुलसम्म, मंसिर ११ गते सतुङ्गलदेखि ढुंगेअड्डासम्म, मंसिर १२ गते कोटेश्वरअन्तर्गत ईटीटीआर ७ए र ८ क्षेत्रमा तथा मंसिर १३ गते बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। मंसिर १४ गते पुनः शिफल ग्राउन्डदेखि कालोपुलसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

    प्राधिकरणले मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका परिवर्तन वा रद्द हुन सक्ने जनाएको छ। साथै, तोकिएको समयमा विद्युत् आपूर्ति बन्द हुने भएकाले सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।



    फास्ट न्युज    
  • २०८३ मंसिर ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट