काठमाडौं । चाडपर्वको समयमा बजारमा हुने भीडभाड र नगद कारोबारको चापसँगै नक्कली नोटको जोखिमबाट जोगिनु पनि उपभोक्ताका लागि चुनौती बन्न सक्छ। किनमेलको हतारमा नोटको जाँच नगर्दा सक्कली नोटको मुठाभित्र नक्कली नोट मिसाएर दिने सम्भावना रहने भएकाले कारोबार गर्दा सावधानी अपनाउन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ।
राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार विशेषगरी ठूला दरका नोटको कारोबार गर्दा बढी सतर्क हुनुपर्छ। सम्भव भएसम्म क्यूआर कोड वा अन्य डिजिटल माध्यमबाट भुक्तानी गर्दा नक्कली नोट पर्ने जोखिमबाट बच्न सकिन्छ।
नगद नै प्रयोग गर्नुपर्ने अवस्थामा भने नोट जाँच्न जटिल प्राविधिक ज्ञान आवश्यक पर्दैन। नोटलाई ध्यानपूर्वक हेर्ने, छाम्ने र ढल्काएर जाँच्ने तीन उपायबाट सक्कली र नक्कली नोट छुट्याउन मद्दत पुग्छ।
नोट जाँच्ने तीन तरिका
१. हेरेर जाँच्नुहोस्
सक्कली नोटमा पानी छाप स्पष्ट देखिन्छ। नोटलाई उज्यालोमा राखेर हेर्दा लालीगुराँस फूलको आकृति देखिनुपर्छ। नोटमा प्रयोग भएको रङ, छपाइको गुणस्तर र सुरक्षा धागोमा रहेका विवरण पनि ध्यानपूर्वक हेर्नुपर्छ।
२. छामेर फरक छुट्याउनुहोस्
सक्कली नोटको कागजमा विशेष किसिमको खस्रोपन महसुस हुन्छ। यसको तुलनामा नक्कली नोटको कागज चिप्लो हुन सक्छ र छपाइ पनि कम गुणस्तरको देखिन सक्छ। शंका लागेमा आफूसँग भएको अर्को सक्कली नोटसँग तुलना गर्न सकिन्छ।
३. उज्यालोमा राखेर वा ढल्काएर हेर्नुहोस्
सक्कली नोटमा रहेको सुरक्षा धागोमा अंग्रेजी अक्षरमा ‘NRB’ लेखिएको हुन्छ। नोटलाई उज्यालोमा राखेर हेर्दा यो विवरण स्पष्ट देखिनुपर्छ। त्यस्तै, नोटलाई विभिन्न कोणबाट ढल्काएर हेर्दा सुरक्षा विशेषतासँग सम्बन्धित विवरण पहिचान गर्न सकिन्छ।
नगद लिँदा हतार नगर्नुहोस्
भीडभाडयुक्त बजार, रातिको किनमेल वा हतारमा हुने कारोबारमा नोटको जाँच नगरी पैसा लिनु जोखिमपूर्ण हुन सक्छ। त्यसैले रकम बुझ्दा नोट गनेर मात्र होइन, त्यसको बनावट र सुरक्षा विशेषता पनि जाँच्नु उचित हुन्छ।
राष्ट्र बैंकका अनुसार चाडपर्वमा प्रयोग हुने पाँचदेखि सय रुपैयाँसम्मका साना दरका नोटमा नक्कली नोटको समस्या तुलनात्मक रूपमा कम देखिए पनि ठूला दरका नोटको कारोबारमा विशेष ध्यान दिनुपर्छ।
नोट नक्कली भएको शंका लागेमा त्यसलाई अरूलाई चलनचल्तीमा नदिनुहोस्। नजिकको बैंक वा सम्बन्धित प्रहरी निकायसँग परामर्श लिनु उपयुक्त हुन्छ।
चाडपर्वको किनमेलमा केही क्षण समय दिएर नोट जाँच्ने बानीले आर्थिक नोक्सानीबाट जोगिन मद्दत गर्न सक्छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया