काठमाण्डौ – विश्वकप फुटबलमा इंग्ल्याण्ड र बेल्जियमले रोमाञ्चक जीत निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन् । इंग्ल्याण्डले कङ्गोलाई २–१ ले पराजित गर्दा बेल्जियमले अतिरिक्त समयमा सेनेगललाई ३–२ ले हराउँदै प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको हो । कङ्गोसँगको खेलमा इंग्ल्याण्ड शुरुआतमै पछि परेको थियो । खेलको सातौँ मिनेटमा ब्रायन सिपेंगाले गोल गर्दै कङ्गोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको इंग्ल्याण्डका लागि कप्तान ह्यारी केन नायक बने । उनले ७५औँ मिनेटमा बराबरी गोल गरे भने ८६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को जित दिलाए ।
अब इंग्ल्याण्डले अन्तिम १६ मा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ । मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको हो । आज बिहान भएको अर्को रोमाञ्चक खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा सेनेगल अन्तिम १६ पुग्न असफल रह्यो । खेलको २४ औँ मिनेटमा हबिब डियराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए भने ५४औँ मिनेटमा इस्माएला सारले गोल थप्दै अग्रता २–० मा पुर्याए ।
तर अन्तिम समयमा बेल्जियमले शानदार पुनरागमन गर्यो । ८५ औँ मिनेटमा रुमेलो लुकाकुले गोल फर्काएपछि ८६औँ मिनेटमा यौरी टिएलम्यानले बराबरी गोल गर्दै खेल २–२ को अवस्थामा पुर्याए । निर्धारित समयपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा सेनेगलका लेमिन केमेराले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि बेल्जियमले पेनाल्टी पायो । टिएलम्यानले यो अवसरलाई गोलमा परिणत गर्दै बेल्जियमलाई ३–२ को अविस्मरणीय जित दिलाए । यससँगै बेल्जियम अन्तिम १६ मा प्रवेश गर्दा सेनेगलको विश्वकप यात्रा समाप्त भएको छ । विश्वकपमा अहिले बिहान पौने ६ बजेदेखि अमेरिका र बोस्निया एण्ड हर्जगोभिनाबीच खेल जारी छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया