logo

२०८३ कार्तिक ६ बिहीबार

logo
  • २०८३ कार्तिक ६ बिहीबार
  • भोटेकोशी बाढीले विद्युत् क्षेत्रमा ठूलो क्षति, ४३१ मेगावाट उत्पादन बन्द

    1KShares
    भोटेकोशी बाढीले विद्युत् क्षेत्रमा ठूलो क्षति, ४३१ मेगावाट उत्पादन बन्द

    काठमाडौं, भोटेकोशी नदीमा आएको बाढीले रसुवासहितका जिल्लाको विद्युत् प्रणालीमा गम्भीर असर पारेको छ। बाढीका कारण रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा बन्द भएको छ भने नुवाकोट, धादिङ र गोरखामा आंशिक रूपमा विद्युत् सेवा प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका अनुसार बाढीका कारण १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द हुँदा ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ। बाढीले विद्युत् उत्पादन केन्द्रसँगै प्रसारण तथा वितरणका महत्वपूर्ण संरचनामा समेत क्षति पुर्‍याएको छ।

    त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसनमा पूर्ण क्षति पुगेको प्राधिकरणले जनाएको छ। चिलिमे २२० केभी हब टावरमा समस्या आएपछि विद्युत् प्रसारण प्रभावित भएको छ। समुन्द्रटार–त्रिशूली १३२ केभी, चिलिमे–त्रिशूली ६६ केभीलगायतका प्रसारण लाइनसमेत अवरुद्ध भएका छन्।

    वितरण प्रणालीतर्फ धादिङको जहरे ३३ केभी सबस्टेसनमा करिब पाँच फिट लेदो जमेको छ। डोजर प्रयोग गरी लेदो हटाउने काम भइरहेको छ भने विभिन्न स्थानमा ११ केभीका पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ।

    बाढीका कारण विद्युत् आयोजना तथा निर्माणाधीन आयोजनामा कार्यरत कर्मचारी र कामदारसमेत सम्पर्कविहीन भएका छन्। प्राधिकरणका अनुसार सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजी र उद्धारका लागि स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय भइरहेको छ।

    यसैबीच, विद्युत् आपूर्ति पुनःस्थापनाका लागि प्राधिकरणले प्रभावित क्षेत्रमा टोली परिचालन गरेको छ। सम्भव भएका स्थानमा वैकल्पिक प्रणालीबाट विद्युत् सञ्चालन गर्ने, पेट्रोलिङ गर्ने र क्षतिग्रस्त संरचना मर्मत गरी लाइन सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका अनुसार बाढीबाट प्राधिकरण, सहायक कम्पनी तथा निजी प्रवर्द्धकबाट निर्माणाधीन ४७० मेगावाट क्षमताका १५ वटा आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट