logo

२०८३ भाद्र ११ बिहीबार

logo
  • २०८३ भाद्र ११ बिहीबार
  • ‘हामी छतमा छौं’ भनेका तीर्थयात्री अझै सम्पर्कविहीन, सालबोटे र गैरी टोलमा सन्नाटा

    706Shares
    ‘हामी छतमा छौं’ भनेका तीर्थयात्री अझै सम्पर्कविहीन, सालबोटे र गैरी टोलमा सन्नाटा

    धादिङ । रसुवाको गोसाइँकुण्ड दर्शनका लागि धादिङबाट निस्किएका २७ जना तीर्थयात्री र बस चालक भीषण बाढीपछि सम्पर्कविहीन छन्। बुधबार बिहानदेखि उनीहरूको अवस्था अज्ञात भएपछि नीलकण्ठ नगरपालिका–९ को सालबोटे र वडा नम्बर १२ को गैरी टोलका परिवारमा चिन्ता र सन्नाटा छाएको छ।

    धादिङबेँसीबाट तीर्थयात्री बोकेर रसुवातर्फ गएको बा ५ ख १२५० नम्बरको बस नुवाकोटको बेत्रावती पुगेपछि सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ। बस नीलकण्ठ नगरपालिका–१२ का छविलाल श्रेष्ठले चलाएका थिए।

    परिवारका अनुसार बस बुधबार बिहान करिब ९ः१५ बजे बेत्रावती पुगेको जानकारी आएको थियो। त्यसपछि तिब्बती क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सडक, पुल तथा सञ्चार सम्पर्क अवरुद्ध भएपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन।

    अन्तिम खबर– ‘बाढीले गाडी बगायो, हामी छतमा छौं’

    सम्पर्क टुट्नुअघि तीर्थयात्री प्रकाश लम्सालले बिहान करिब साढे ९ बजे फोन गरेर ‘बाढीले गाडी बगायो, हामी घरको छतमा छौं’ भनेको स्थानीय प्रकाश खनालले बताएका छन्।

    त्यसपछि भने फोन सम्पर्क पूर्ण रूपमा विच्छेद भयो। परिवारजनले पटकपटक फोन गरे पनि सम्पर्क हुन सकेन। उनीहरू कुन स्थानमा छन् र कस्तो अवस्थामा छन् भन्नेबारे अहिलेसम्म भरपर्दो जानकारी प्राप्त भएको छैन।

    सम्पर्कविहीन हुनेमध्ये अधिकांश नीलकण्ठ नगरपालिका–९ र १२ का छन्। उनीहरूमध्ये धेरैजसो एउटै टोलका र केही श्रीमान्–श्रीमतीसमेत छन्। कतिपय परिवारका सबै सदस्य तीर्थयात्रामा गएका कारण घरका ढोका बन्द छन् भने आँगन सुनसान बनेका छन्।

    सालबोटे र गैरी टोलमा अहिले आफन्त तथा छिमेकीहरू जम्मा भएर उनीहरूको खबर पर्खिरहेका छन्। अपरिचित फोनको घण्टी बज्दा केही क्षण आशा पलाउने र फेरि सम्पर्क हुन नसक्दा निराशा छाउने गरेको स्थानीय बताउँछन्।

    स्थानीय राजाराम शर्माका अनुसार उपलब्ध स्रोत र पहुँच प्रयोग गरेर खोजी तथा उद्धारका लागि पहल भइरहेको छ। ‘भएजति स्रोतसाधन र पहुँच लगाएर खोजतलासका लागि गुहार मागिरहेका छौं। अहिलेसम्म कतैबाट पनि भरपर्दो सूचना आएको छैन,’ उनले भने।

    परिवारजनका लागि सबैभन्दा ठूलो पीडा अन्तिमपटक आएको फोन बनेको छ। आफूहरू छतमा रहेको जानकारी पाएपछि उनीहरू सुरक्षित रहेको आशा गरेका परिवार त्यसपछि सम्पर्क विच्छेद भएपछि थप चिन्तित बनेका छन्।

    यी हुन् सम्पर्कविहीन

    नीलकण्ठ नगरपालिका–१२

    • छविलाल श्रेष्ठ (बस चालक)
    • दयाराम लम्साल र सीता लम्साल
    • ठाकुर लम्साल र शारदा लम्साल
    • प्रकाश लम्साल र इन्दिरा लम्साल

    नीलकण्ठ नगरपालिका–९

    • राम लम्साल र जानुका लम्साल
    • कृष्णप्रसाद खनाल र राधिका खनाल
    • रामचन्द्र खनाल र भगवती खनाल
    • शिवहरि लम्साल र गायत्री लम्साल
    • नारायणप्रसाद लम्साल र सीता लम्साल
    • राजन लम्साल र न्याउरी लम्साल

    सिद्धलेक गाउँपालिका–१

    • हरिप्रसाद सिलवाल र बिन्दा सिलवाल
    • घनश्याम भट्ट र कल्पना भट्ट

    नीलकण्ठ नगरपालिका–३

    • सीता तिवारी
    • तुलसी तिमल्सिना र ईश्वरी तिमल्सिना

    यसै तीर्थयात्रामा काठमाडौं पुगेका नीलकण्ठ–९ का गुणनिधि सुवेदी (सीताराम) र उनकी श्रीमती पनि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ। छोराबुहारीसहित रामहरि सुवेदी र उनकी श्रीमती गरी परिवारका चारै जना पनि बेपत्ता रहेको बताइएको छ।

    गोसाइँकुण्ड दर्शनका लागि श्रद्धा बोकेर घरबाट निस्किएका आफन्तको अवस्थाबारे जानकारी नआएपछि परिवारमा रुवाबासी छ। छिमेकीहरू पनि आफन्तका घरमा जम्मा भएर उनीहरू सकुशल फर्किने आशामा पर्खिरहेका छन्।

    बाढीले सम्पर्कविहीन बनाएका तीर्थयात्री र बस चालकको खोजी तथा उद्धारका लागि परिवारजनले सम्बन्धित निकायसँग आग्रह गरेका छन्। उनीहरूको अवस्थाबारे भरपर्दो सूचना नआउँदा प्रत्येक बितेको घडी परिवारका लागि झनै पीडादायी बन्दै गएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट