खोटाङ । नेपाली कांग्रेस खोटाङको संस्थापन इतर पक्षले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर संयोजकको जिम्मेवारी महिला नेतृ निर्मला राईलाई दिएको छ।
नेपाली कांग्रेस जिल्ला अधिवेशन तयारी समिति, खोटाङका संयोजक रोजन राईले राईलाई नगर संयोजकमा मनोनयन गरी जिम्मेवारी प्रदान गरेका हुन्। समितिले जारी गरेको पत्रमा आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन तथा पार्टी संगठनलाई थप सुदृढ र गतिशील बनाउने उद्देश्यले उनलाई जिम्मेवारी दिइएको उल्लेख छ।
निर्मला राई नेपाल महिला संघ प्रदेश ‘ख’ की अध्यक्ष तथा नेपाल शिक्षक महासंघकी निवर्तमान जिल्ला उपाध्यक्षसमेत हुन्। यसअघि पनि उनी नेपाली कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएकी छन्।
मनोनयन पत्रमा नगर संयोजक राईले नगरपालिकाभित्रका पार्टी नेता, कार्यकर्ता तथा सम्बन्धित तहका समितिहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै महाधिवेशन सफल पार्न तथा संगठन निर्माण र सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
त्यस्तै, जिल्ला अधिवेशन तयारी समिति, प्रदेश क्षेत्र समितिसँग निरन्तर समन्वय र सम्पर्कमा रही प्राप्त जिम्मेवारी तथा निर्देशनअनुसार काम गर्न पनि उनलाई आग्रह गरिएको छ।
रोजन राईद्वारा हस्ताक्षरित पत्रमा निर्मला राईको सक्रियता, सहयोग र नेतृत्वदायी भूमिकाबाट नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया