logo

२०८३ भाद्र ११ बिहीबार

logo
  • २०८३ भाद्र ११ बिहीबार
  • प्रतिवेदनले देखायो बाढीको कारण : तिब्बततर्फ थुनिएको नदीको ताल फुटेपछि भोटेकोशीमा भीषण बाढी

    703Shares
    प्रतिवेदनले देखायो बाढीको कारण : तिब्बततर्फ थुनिएको नदीको ताल फुटेपछि भोटेकोशीमा भीषण बाढी

    काठमाडौं, तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा विनाशकारी बाढी आएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बुधबार आएको बाढीबारे विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै बाढीको तीव्र बहावले चार वटा स्वचालित जलमापन केन्द्रसमेत बगाएको जनाएको हो।

    महाशाखाका अनुसार बाढीले रसुवाको भोटेकोशी, स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती र धादिङको मलेखु (फुर्के)स्थित जलमापन केन्द्र पुलसहित बगाएको छ। केन्द्रहरू ध्वस्त भएपछि सम्बन्धित स्थानको प्रत्यक्ष जलसतहसम्बन्धी तथ्यांक प्राप्त हुन सकेको छैन।

    प्रतिवेदनअनुसार बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो। त्यसको केही समयपछि बिहान ८ः५० बजे भोटेकोशी स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्यांक आउन बन्द भएको थियो। बिहान ९ बजे तिब्बततर्फबाट भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको सूचना जिल्ला प्रशासन कार्यालय रसुवा र बेत्रावती जलमापन केन्द्रका कर्मचारीमार्फत प्राप्त भएको थियो।

    बाढीको जोखिमलाई मध्यनजर गर्दै बिहान ९ः१५ देखि ९ः१६ बजेसम्म त्रिशूली तटीय क्षेत्र, मुग्लिनसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन पहिलो चरणको पूर्वसूचना जारी गरिएको थियो। त्यस क्रममा ६ लाख ७९ हजार एसएमएस पठाइएको महाशाखाले जनाएको छ।

    बिहान ९ः२० बजे बेत्रावती जलमापन केन्द्र पनि बन्द भयो। त्यसबेला केन्द्रमा अन्तिम जलसतह ३.५५ मिटर मापन भएको थियो। यसको चेतावनी तह ४.१ मिटर र खतरा तह ५ मिटर तोकिएको थियो।

    बाढी त्यसपछि तीव्र गतिमा तल्लो तटीय क्षेत्रमा फैलिएको थियो। बिहान १०ः२८ बजे धादिङको गल्छी आसपास बाढी पुगेपछि पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्ड तथा त्रिशूली तटीय बस्तीमा पुनः सतर्कता अपनाउन एसएमएस पठाइएको थियो।

    बिहान ११ः२६ बजे फुर्केखोला (मलेखु) जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको थियो। ११ः४३ बजे जलसतहले खतरा तह पार गरेपछि केही समयमै केन्द्र पुलसहित बाढीले बगाएको प्रतिवेदनमा उल्लेख छ। त्यसको केही समयपछि बिहान ११ः५० बजे बाढी मलेखु बजार आसपास पुगेको थियो।

    दिउँसो १ बजे बाढीले मुग्लिन पार गरेको थियो। दिउँसो २ः१४ बजे कालीखोला जलमापन केन्द्रमा जलसतह खतरा तह १२.१ मिटर पार गर्दै १२.३ मिटरको उच्चतम बिन्दुमा पुगेको थियो।

    बाढी दिउँसो ३ः२० बजे नारायणी नदीको देवघाट क्षेत्रमा पुगेको थियो। देवघाट जलमापन केन्द्रमा साँझ ४ बजे जलसतह ६.५७ मिटरको उच्चतम बिन्दुमा पुगेपछि घट्न थालेको थियो। साँझ ६ः३० बजे देवघाटमा जलसतह करिब ४ मिटरको सामान्य अवस्थातर्फ फर्किएको महाशाखाले जनाएको छ।

    देवघाटबाट मात्रै २ करोड घनमिटर अतिरिक्त पानी

    प्राविधिक आँकलनअनुसार बाढीको अवधिमा देवघाट जलमापन केन्द्रबाट मात्रै करिब २ करोड घनमिटर अतिरिक्त पानीको बहाव भएको देखिएको छ। यसले बाढीको असामान्य तीव्रता र ठूलो जलप्रवाहलाई संकेत गर्ने महाशाखाको प्रतिवेदनमा उल्लेख छ।

    महाशाखाले रसुवागढी नाकादेखि नेपाल–भारत सीमासम्मको क्षेत्रलाई जोखिमका आधारमा अति उच्च, उच्च र मध्यम जोखिम क्षेत्रमा नक्सांकन गरी आवश्यक सतर्कता अपनाउन भनेको छ।

    प्रतिवेदनले भोटेकोशीमा प्रवेश गरेको बाढी केही घण्टामै त्रिशूली हुँदै नारायणीसम्म पुगेको देखाएको छ। बाढीको तीव्र बहावसँगै जलमापन केन्द्रहरू नै ध्वस्त भएकाले आगामी दिनमा यस्ता विपद्को पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने अवस्था देखिएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट