काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन्।
बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनले प्राकृतिक विपद्को घटनाले सिंगो देशलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन्। उनले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्री बालेनले बाढीमा परी घाइते भएका तथा अस्पतालमा उपचाररत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनका अनुसार सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रलाई उद्धार कार्यमा परिचालन गरेको छ। अहिलेको संवेदनशील अवस्थामा घाइतेको ज्यान जोगाउने, बेपत्ताको खोजी गर्ने र प्रभावित नागरिकलाई सुरक्षित राख्ने काम सरकारको पहिलो प्राथमिकता रहेको उनले बताएका छन्।
प्रधानमन्त्री बालेनले विपद्बाट प्रभावित नागरिकलाई राज्यले एक्लो नछाड्ने प्रतिबद्धता जनाएका छन्। उनले उद्धार, उपचार, खानपिन र बसोबासको व्यवस्थापन सरकारले गर्ने भन्दै प्रभावित नागरिकलाई धैर्य गर्न आग्रह गरेका छन्।
उनले यस्तो कठिन अवस्थामा सबै एकजुट भएर प्रभावित नागरिकलाई सहयोग गर्नसमेत आह्वान गरेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया