काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको बाढीको प्रभाव सात जिल्लासम्म देखिएको छ। बाढीमा परी हालसम्म १५७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। राति ११ः०५ बजेसम्मको प्रहरी विवरणअनुसार विभिन्न जिल्लामा ती शव फेला परेका हुन्।
प्रहरीका अनुसार बाढीमा परी सबैभन्दा बढी मृत्यु चितवनमा भएको छ। चितवनमा मात्रै ६४ जनाको शव फेला परेको छ। धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव भेटिएको छ।
फेला परेका १५७ शवमध्ये ३४ महिला, ६३ पुरुष, ६ बालिका र ७ बालक छन्। ४७ जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
यसैबीच, बाढीका कारण नेपाल प्रहरीका २८ जना कर्मचारीसमेत सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ।
बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २०, ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १, नर्भिक अस्पतालमा ३ र त्रिशूली अस्पतालमा ९ जना उपचाररत छन्।
बाढीपछि जनधनको ठूलो क्षति भएको सात जिल्लामा शव खोजी, पहिचान तथा घाइतेको उपचारसँगै बेपत्ता व्यक्तिको खोजीलाई पनि तीव्रता दिइएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया