logo

२०८३ भाद्र ११ बिहीबार

logo
  • २०८३ भाद्र ११ बिहीबार
  • तिब्बतमा बाढी–पहिरोको कहर : ५५८ जना सम्पर्कविहीन, तीन जनाको मृत्यु

    703Shares
    तिब्बतमा बाढी–पहिरोको कहर : ५५८ जना सम्पर्कविहीन, तीन जनाको मृत्यु

    काठमाडौं, नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको विनाशकारी बाढी तथा पहिरोपछि चीनतर्फको तिब्बत क्षेत्रमा ५५८ जना सम्पर्कविहीन भएका छन्। चिनियाँ अधिकारीहरूका अनुसार तिब्बततर्फ तीन जनाको मृत्यु भएको छ भने दुई जनाको उद्धार गरिएको छ।

    काठमाडौंस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल एक्समार्फत बिहीबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै दक्षिण–पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा रहेको चीन–नेपाल सीमावर्ती बन्दरगाहमा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको जनाएको हो।

    दूतावासका अनुसार स्थानीय अधिकारीहरूले बिहीबार बिहान ८ बजेसम्म तीन जनाको मृत्यु, ५५८ जना बेपत्ता तथा दुई जना स्थानीयको उद्धार भएको जानकारी दिएका छन्। उद्धार तथा खोजी कार्य भने जारी छ।

    बुधबार बिहान सीमा क्षेत्रमा आएको बाढी तथा पहिरोले तिब्बततर्फको सीमावर्ती क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याएको हो। पहिरोका कारण सडक, संरचना तथा अन्य पूर्वाधारमा क्षति पुगेको जनाइएको छ।

    चिनियाँ अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुका साथै उद्धार तथा राहतका लागि थप जनशक्ति परिचालन गरेका छन्। उद्धार टोलीहरू प्रभावित सीमावर्ती बन्दरगाहतर्फ पठाइएको चिनियाँ दूतावासले जनाएको छ।

    यसैबीच, सीमावर्ती क्षेत्रमा थप प्राकृतिक विपत्तिको जोखिमसमेत रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। उद्धारमा अवरोध पुग्न सक्ने गरी माथिल्लो क्षेत्रमा पानी जमेको स्थान पहिचान भएपछि त्यसको निगरानी तथा जोखिम मूल्यांकन भइरहेको जनाइएको छ।

    नेपालतर्फ पनि बुधबारको बाढी तथा पहिरोमा ठूलो मानवीय क्षति भएको छ। नेपाल र तिब्बत दुवैतर्फ गरी बेपत्ता हुनेको संख्या एक हजारभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।



    फास्ट न्युज    
  • २०८३ भाद्र ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट