logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट

    1KShares
    सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट

    सिरहा– सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र सिरहाका अनुसार चालु वर्षमा आँप उत्पादन ५९ हजार ८६६.५ मेट्रिक टनमा सीमित भएको छ । गत वर्ष ९९ हजार दुई सय ३५ मेट्रिक टन उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा झण्डै ४० प्रतिशत कमी रहेको केन्द्रले जनाएको छ ।

    गत वर्ष नौ हजार हेक्टर क्षेत्रफलमा ९९ हजार दुई सय ३५ मेट्रिक टन आँप उत्पादन भएको थियो । तर, यस वर्ष नौ हजार २५ हेक्टर क्षेत्रफलमध्ये आठ हजार आठ सय ९५ हेक्टर मात्र उत्पादनयोग्य रह्यो । यस वर्ष प्रति हेक्टर ६.६३ मेट्रिक टन उत्पादन भएको छ, जुन अघिल्लो वर्षको ११.०२ मेट्रिक टन प्रतिहेक्टर भन्दा निकै कम हो ।

    केन्द्र सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार आँप उत्पादनमा गिरावट आउनुको मुख्य कारण एक वर्ष प्रशस्त फल लाग्ने र अर्को वर्ष तुलनात्मक रुपमा कम फल लाग्ने प्रकृतिक कारण हो ।

    त्यसैगरी, उत्पादनमा कमी हुनुमा सिँचाइको अभाव, समयमै आवश्यक औषधि उपचार नहुनु, र कीराको प्रकोप जस्ता कारण पनि जिम्मेवार रहेको उनको भनाइ छ । उत्पादन घटेपछि बजारमा आँपको आपूर्ति घटेको छ, जसले मूल्यमा सामान्य वृद्धि ल्याएको छ । लगानी अनुसार आम्दानी नहुँदा धेरै किसान निराश भएका छन् ।

    सिरहा जिल्ला आँप उत्पादनका लागि चर्चित मानिन्छ । उत्पादन घटेसँगै स्थानीय बजार, व्यापारी र फलफूल प्रशोधन केन्द्रमा प्रत्यक्ष असर परेको छ ।आँप खेतीको उत्पादन चक्रलाई ध्यानमा राखी दीर्घकालीन नीति आवश्यक रहेको सरोकारवालाको भनाइ छ । सिँचाइ सुविधा, आधुनिक रोग नियन्त्रण प्रविधि, र किसानलाई आँप उत्पादनसम्बन्धी ज्ञानको कमीले प्रत्येक वर्ष उत्पादनमा अस्थिरता देखिन्छ ।

    सरकार तथा स्थानीय निकायले आँप उत्पादनलाई प्रोत्साहन दिने नीति र चिस्यान केन्द्रको व्यवस्था गरेमा किसानको मनोबल उच्च रहनुका साथै जिल्लाको आर्थिक समृद्धिमा पनि ठूलो टेवा पुग्ने विज्ञहरुको धारणा छ । (रासस)



    फास्ट न्युज    
  • २०८२ असार १६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट