logo

२०८३ भाद्र ११ बिहीबार

logo
  • २०८३ भाद्र ११ बिहीबार
  • बाढीले भत्काएका पुल पुनर्निर्माण गर्न नेपाललाई भारतले बेलिब्रिज पठाउने

    703Shares
    बाढीले भत्काएका पुल पुनर्निर्माण गर्न नेपाललाई भारतले बेलिब्रिज पठाउने

    काठमाडौं, भोटेकोसी नदीमा आएको बाढीबाट पुलहरू भत्किएर सीमावर्ती क्षेत्रमा यातायात सम्पर्क प्रभावित भएपछि भारतले नेपाललाई बेलिब्रिज उपलब्ध गराउने भएको छ।

    भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपालले गरेको आग्रहअनुसार बेलिब्रिज पठाउने तयारी भइरहेको जानकारी दिएका हुन्।

    ‘बेलीब्रिज पठाउनका लागि हामी काम गरिरहेका छौँ,’ जयसवालले भने। यद्यपि भारतले नेपालमा कति वटा बेलिब्रिज पठाउने तयारी गरेको छ भन्नेबारे उनले स्पष्ट जानकारी दिएनन्।

    बुधबार आएको बाढीले भोटेकोसी नदी आसपासका सडक तथा पुलमा ठूलो क्षति पुर्‍याएपछि केही क्षेत्रमा यातायात सम्पर्क विच्छेद भएको छ। पुलहरू बगेपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा आवतजावतमा थप कठिनाइ भएको छ।

    जयसवालका अनुसार नेपालले माग गरेअनुसार भारतले राहत सामग्रीसँगै बेलिब्रिज पठाउने तयारी गरेको हो। भारतले यसअघि नै दुई खेपमा गरी नेपाललाई ४७.५ टन राहत सामग्री पठाइसकेको उनले जानकारी दिए।

    बाढीपछि नेपालमा उद्धार तथा राहत अभियान जारी रहेका बेला भारतले थप मानवीय सहायता उपलब्ध गराउने तयारी गरेको हो। यसअघि भारतले बाढी प्रभावित नेपालका लागि राहत सामग्री पठाएको विषयमा पनि जानकारी सार्वजनिक गरिसकेको छ।

    भोटेकोसी क्षेत्रमा बाढीका कारण भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेकाले तत्कालका लागि अस्थायी पुल निर्माण गरी यातायात सञ्चालनमा ल्याउन बेलिब्रिज उपयोगी हुने अपेक्षा गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट