काठमाडौं, नेपाल–चीन व्यापारको महत्वपूर्ण मार्गका रूपमा रहेको रसुवामा बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि चिनियाँ विद्युतीय सवारीसाधन उत्पादक बीवाईडी र नेपालका लागि आधिकारिक वितरक साइमेक्स इङ्कले प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
बीवाईडीका सवारीसाधन नेपाल भित्रिने प्रमुख मार्गसमेत रहेको रसुवामा विपत्तिले जनधन तथा पूर्वाधारमा क्षति पुर्याएपछि कम्पनीले संकटको समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग अघि सारेको हो।
दुवै कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७ करोड रुपैयाँ उपलब्ध गराउने भएका छन्। सरकारी कोषमार्फत उक्त रकम बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा उपचारदेखि राहत सामग्री वितरण, पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा खर्च गरिने बताइएको छ।
बीवाईडी ग्रुपका उपाध्यक्ष तथा बीवाईडी एसिया प्यासिफिकका महाप्रबन्धक लियु कुएल्याङले विपत्तिबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै कठिन समयमा नेपाली जनताको साथमा रहेको बताएका छन्।
कम्पनीले आफ्नो सहयोगलाई प्रभावित क्षेत्रको पुनःस्थापना प्रयासमा योगदानका रूपमा प्रस्तुत गरेको छ। सरकारी संयन्त्रमार्फत रकम परिचालन हुने भएकाले राहत तथा पुनर्निर्माणका प्राथमिकतामा यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साइमेक्स इङ्कले पनि विद्युतीय यातायातको क्षेत्रमा व्यावसायिक गतिविधिसँगै संकटका बेला सामाजिक जिम्मेवारी निर्वाह गर्नु आफ्नो दायित्व भएको जनाएको छ।
बाढीपहिरोबाट प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधनसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण आवश्यक भइरहेका बेला निजी क्षेत्रबाट घोषणा गरिएको यो सहयोगलाई राहत तथा पुनःस्थापनाका लागि महत्वपूर्ण योगदानका रूपमा हेरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया