logo

२०८३ भाद्र ११ बिहीबार

logo
  • २०८३ भाद्र ११ बिहीबार
  • केरुङमा पहिरोले बनायो नयाँ ताल, तीन दिन भारी वर्षाको पूर्वानुमानले बढायो बाढीको जोखिम

    703Shares
    केरुङमा पहिरोले बनायो नयाँ ताल, तीन दिन भारी वर्षाको पूर्वानुमानले बढायो बाढीको जोखिम

    काठमाडौं । चीनको केरुङ क्षेत्रमा पहिरोका कारण नदी थुनिएर नयाँ अस्थायी ताल बनेपछि अर्को ठूलो विपद्को जोखिम बढेको छ। त्यसमाथि आगामी तीन दिनसम्म भारी वर्षा हुने पूर्वानुमान रहेकाले पहिरोले बनाएको अस्थिर प्राकृतिक बाँध फुट्ने वा तालको पानी तीव्र रूपमा ओभरफ्लो हुने जोखिम बढेको हो।

    चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार पहिरोले थुपारेको माटो तथा ढुंगाबाट बनेको अस्थिर प्राकृतिक बाँधका कारण नयाँ ताल बनेको हो। चीनको राष्ट्रिय प्रसारण संस्था सीसीटीभीले सार्वजनिक गरेको पछिल्लो ड्रोन फुटेजमा ग्याइरोङ नाकानजिकै सीमाक्षेत्रमा पहिरोले बनाएको भूभागमा पानी जम्मा भएर ताल विस्तार भइरहेको देखिएको जनाएको छ।

    प्रारम्भिक अनुमानअनुसार तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ। पानी ओभरफ्लो हुनसमेत थालेको जनाइएको छ। आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने प्रक्षेपण गरिएको छ। यसले प्राकृतिक बाँधमाथि दबाब बढाएर बाँध फुट्ने जोखिम थप बढाउने बताइएको छ।

    प्रतिकूल मौसम र जटिल भौगोलिक अवस्थाका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यसमेत थप चुनौतीपूर्ण हुने सीसीटीभीले जनाएको छ।

    चिनियाँ सेनाका स्थानीय कमान्डर चेन सीलाई उद्धृत गर्दै सीसीटीभीले पहिरोको निरन्तर जोखिमलाई ध्यानमा राख्दै केही सैन्य टोलीलाई कमान्ड सेन्टरमा तयारी अवस्थामा राखिएको जनाएको छ। सेनाका अधिकारी तथा विज्ञहरूले सडकहरू ठाडा भीरका किनारमा रहेकाले जुनसुकै बेला पहाडी संरचना खस्न सक्ने चेतावनी दिएका छन्। थप ठूलो लेदोसहितको पहिरो आउन सक्ने जोखिमसमेत औँल्याइएको छ।

    नयाँ बनेको अस्थायी तालको प्राकृतिक बाँध फुटेमा वा ओभरफ्लोको बहाव तीव्र भएमा तल्लो तटीय क्षेत्रमा अर्को ठूलो बाढी तथा लेदोसहितको बहाव आउन सक्ने जोखिम रहेको जनाइएको छ।

    यसअघि पहिरो र बाढीबाट प्रभावित क्षेत्रमा नयाँ ताल बनेसँगै आगामी वर्षाले जोखिम थप बढाउने देखिएको छ। त्यसैले केरुङ क्षेत्रसँगै तल्लो तटीय क्षेत्रमा समेत थप सतर्कता आवश्यक देखिएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट