काठमाडौं, बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २५८ पुगे पनि विपद्को मानवीय क्षतिको पूर्ण विवरण अझै बाहिर आउन सकेको छैन। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभर ९१० जना अझै सम्पर्कविहीन छन्।
सम्पर्कविहीन हुनेमा नेपाली नागरिकसँगै ठूलो संख्यामा विदेशी नागरिकसमेत छन्। प्राधिकरणका अनुसार ५१७ जना विदेशी नागरिक र नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिक सम्पर्कमा छैनन्।
त्यस्तै, नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४ र सशस्त्र प्रहरी बल नेपालका १३ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका चार कर्मचारीको अवस्थासमेत अज्ञात छ।
जिल्लागत रूपमा रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७, गोरखामा २०, चितवनमा १०८, तनहुँमा १२, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।
बाढीपहिरो प्रभावित क्षेत्रमा बेपत्ताको खोजी र उद्धारका लागि सुरक्षाकर्मीको व्यापक परिचालन गरिएको छ। प्राधिकरणका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी १३ हजार २९५ सुरक्षाकर्मी उद्धार, खोज तथा राहतमा खटिएका छन्।
परिचालित सुरक्षाकर्मीमध्ये नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ जना छन्।
स्थलमार्ग अवरुद्ध भएका तथा जोखिमपूर्ण क्षेत्रमा उद्धारका लागि हवाई माध्यमलाई प्राथमिकता दिइएको छ। बिहीबार मात्रै ६९ हेलिकप्टर उडानमार्फत ३५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति चितवनमा देखिएको छ। त्यहाँ १०८ जनाको शव फेला परेको छ। त्यसपछि नवलपरासी पूर्वमा ६२ र धादिङमा २७ जनाको मृत्यु भएको विवरण छ।
तर मृतकको संख्या र सम्पर्कविहीनको विवरण अझै अन्तिम भने होइन। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेकाले थप शव फेला पर्न सक्ने तथा सम्पर्कविहीनको अवस्थाबारे नयाँ विवरण आउन सक्ने प्राधिकरणले जनाएको छ।
यसले बाढीपहिरोबाट भएको क्षतिको तत्कालीन तथ्यांकभन्दा पनि अझै उद्धारको प्रतीक्षामा रहेका ९१० जनाको अवस्थामाथि सबैभन्दा ठूलो चासो केन्द्रित भएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया