logo

२०८३ भाद्र २७ शनिबार

logo
  • २०८३ भाद्र २७ शनिबार
  • सिरहामा शिक्षामन्त्री पोखरेलको सम्बोधनका क्रममा विवाद, बोल्दाबोल्दै कार्यक्रमबाट बाहिरिए

    709Shares
    सिरहामा शिक्षामन्त्री पोखरेलको सम्बोधनका क्रममा विवाद, बोल्दाबोल्दै कार्यक्रमबाट बाहिरिए

    सिरहा । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि सुझाव संकलन गर्न सिरहाको औरही नगरपालिकामा आयोजित कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेलको सम्बोधनका क्रममा विवाद भएको छ।

    पाठ्यक्रम विकास केन्द्रको आयोजनामा शनिबार भएको कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, अभिभावक, विद्यार्थी तथा अन्य सरोकारवालाले पाठ्यक्रम परिमार्जनका विषयमा आ–आफ्ना सुझाव राखेका थिए।

    सरोकारवालाको धारणा सुनिसकेपछि औरही नगरपालिका मेयर शिवजी यादवले सम्बोधन गरेका थिए। त्यसपछि जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेशकुमार महतोको नाम वक्ताका रूपमा रहेको भए पनि उनलाई बोल्ने समय नदिई शिक्षामन्त्री पोखरेललाई सम्बोधनका लागि आग्रह गरिएको बताइएको छ।

    आफूलाई बोल्न समय नदिएको भन्दै सभापति महतोले प्रश्न उठाएपछि कार्यक्रममा विवाद भएको हो।

    रास्वपाका सांसद शिव यादवका अनुसार होहल्ला भएपछि शिक्षामन्त्री पोखरेलले छोटो सम्बोधन गरेर कार्यक्रमबाट बाहिरिएका थिए। उनले मन्त्रीलाई कार्यक्रमबाट ‘लखेटिएको’ भन्ने प्रचार भ्रमपूर्ण रहेको दाबी गरे।

    ‘मन्त्रीज्यूले छोटो सम्बोधन गर्नुभयो। सामान्य विवाद भएपछि उहाँ सम्बोधन छोट्याएर निस्किनुभएको हो। लखेटिएको होइन,’ सांसद यादवले भने।

    यता जिल्ला समन्वय समिति सिरहाका सभापति महतोले भने शिक्षामन्त्री ढिलो आएका कारण कार्यक्रमको निर्धारित तालिका प्रभावित भएको र आफूलाई धारणा राख्न नदिएपछि विवाद उत्पन्न भएको बताएका छन्।

    ‘तीन घण्टा अगाडि नै कार्यक्रमको सेडुल बनेको थियो। मन्त्रीज्यू ढिलो आउनुभयो। वक्ताहरूलाई बोल्न नदिएर आफैं बोल्न थालेपछि विवाद भएको हो,’ महतोले भने, ‘विवाद भएपछि मन्त्रीज्यू बोल्दाबोल्दै बीचमै हिँड्नुभयो।’

    महतोले आफूले कार्यक्रमको निर्धारित कार्यतालिकाअनुसार धारणा राख्न पाउनुपर्ने भन्दै प्रश्न उठाएको बताएका छन्।

    शिक्षामन्त्री पोखरेल पछिल्ला केही दिनदेखि मधेशका विभिन्न स्थानमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि आवश्यक सुझाव संकलनसम्बन्धी कार्यक्रममा सहभागी हुँदै आएका छन्।

    शनिबारको कार्यक्रममा रास्वपाका सांसद पुरुषोत्तम यादव पनि सहभागी थिए।



    फास्ट न्युज    
  • २०८३ भाद्र २७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट