काठमाडौं, पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा सीमा विवाद फेरि चर्किएको छ। स्थानीयवासीले भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लगाएपछि सीमा क्षेत्रमा तनाव बढेको हो।
स्थानीयका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे सादा पोसाक र हतियारसहित करिब ६० जना भारतीय एसएसबी सुस्ता गाउँपालिका–५ को थारु टोल क्षेत्रमा प्रवेश गरेका थिए। उनीहरूले त्यहाँ निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको अस्थायी बाँध भत्काइदिएको स्थानीयको दाबी छ।
सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार भारतीय सुरक्षाकर्मी दुई देशको सीमा मानिएको सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेका थिए। स्थानीयले विरोध जनाउँदै रोक्ने प्रयास गरे पनि हतियारसहित आएका सुरक्षाकर्मीका कारण प्रतिरोध गर्न नसकिएको उनले बताए।
यो पहिलो घटना भने होइन। स्थानीयका अनुसार गत असार महिनामै पनि भारतीय सुरक्षाकर्मीले सोही क्षेत्रमा पुगेर बाँध निर्माण रोक्न दबाब दिएका थिए। त्यसपछि केही समय निर्माण कार्य स्थगित गरिएको थियो।
स्थानीय मुन्ना खाँले सीमा स्तम्भको अभाव, नारायणी नदीले पटक–पटक धार परिवर्तन गर्ने अवस्था तथा भारतीय पक्षबाट हुने हस्तक्षेपका कारण सुस्ता क्षेत्र लामो समयदेखि विवादको केन्द्रमा रहँदै आएको बताए।
घटनापछि कुनै अप्रिय अवस्था सिर्जना हुन नदिन नेपाल सशस्त्र प्रहरी बल घटनास्थलमा परिचालन गरिएको छ। स्थानीयले भने सीमा सुरक्षाको प्रभावकारी व्यवस्थापन गर्दै नेपाली भूमिमा भइरहेको हस्तक्षेप रोक्न सरकारसँग कूटनीतिक र सुरक्षा तहबाट तत्काल पहल गर्न माग गरेका छन्।
सुस्ता क्षेत्र नेपाल–भारतबीच लामो समयदेखि संवेदनशील सीमावर्ती क्षेत्रका रूपमा परिचित छ। नदीको धार परिवर्तनसँगै सीमा निर्धारणको विषय विवादित बन्दै आएको छ भने पछिल्ला घटनाले सीमा व्यवस्थापन र कूटनीतिक पहललाई थप चुनौतीपूर्ण बनाएको स्थानीयको भनाइ छ।
प्रतिक्रिया