काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा कारभित्र आगलागी हुँदा ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठको जलेर मृत्यु भएको छ। कारमा अचानक लागेको आगोको कारण अझै खुल्न नसकेको भन्दै प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।
मंगलबार बिहान करिब ११ बजेर २० मिनेटमा ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा श्रेष्ठले चलाइरहेको बा.५ च ३०३८ नम्बरको सेतो रंगको किया (किया मोटर्स) कारमा एक्कासि आगलागी भएको थियो। आगो नियन्त्रणमा लिएपछि कारभित्र श्रेष्ठ जलेको अवस्थामा मृत फेला परेका थिए।
काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार मृतक श्रेष्ठको स्थायी घर नरदेवी भए पनि उनी पछिल्लो समय कीर्तिपुरको ट्याङ्लाफाँटमा बस्दै आएका थिए। घटनापछि परिवारका सदस्यले शवको सनाखत गरेका छन्।
प्रत्यक्षदर्शीका अनुसार कार चाँदनी चोकमा आएर रोकिएपछि सुरुमा गाडीभित्रबाट सामान्य धुवाँ र सानो आगो देखिएको थियो। तर केही क्षणमै आगो तीव्र रूपमा फैलिँदै सम्पूर्ण कारलाई आफ्नो नियन्त्रणमा लिएको थियो।
घटनापछि प्रहरी र स्थानीयवासी तत्काल घटनास्थल पुगेका थिए। उनीहरूले अग्नि नियन्त्रण यन्त्रको प्रयोग गरेर आगो निभाए पनि चालकको ज्यान जोगाउन भने सकेनन्।
प्रहरीले शव निकालेर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाएको छ। पोस्टमार्टम प्रतिवेदनपछि मृत्युको थप कारण खुल्ने अपेक्षा गरिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार २०६२ साल कात्तिक २७ गते नबिल बैंकबाट ऋण लिएर किस्ताबन्दीमा खरिद गरिएको खुलेको प्रहरीले जनाएको छ।
आगलागी प्राविधिक खराबी, इन्धन प्रणालीमा आएको समस्या, विद्युतीय सर्ट वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा अहिले नै निष्कर्षमा पुग्न नसकिने प्रहरीको भनाइ छ। घटनास्थलबाट संकलन गरिएका प्रमाण, कारको प्राविधिक परीक्षण तथा प्रत्यक्षदर्शीको बयानका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ।
प्रहरीले आगलागीको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित प्राविधिक निकायसँग समेत समन्वय गरेर अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया