काठमाडौं, भदौ २४ — नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबैको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
बीपी स्मृति दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै थापाले आन्दोलनका क्रममा भएको राज्य दमनदेखि सार्वजनिक संरचनामा भएको ध्वंससम्मका घटनाको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका हुन्।
थापाले भदौ २४ गते आफ्नो घरसमेत जलेको स्मरण गर्दै व्यक्तिगत क्षतिभन्दा उक्त घटनामा ज्यान गुमाएका तथा घाइते भएका युवाको पीडा ठूलो रहेको बताए।
उनले भदौ २३ गते भएको शान्तिपूर्ण आन्दोलनमाथिको राज्य दमन र आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउनेहरूको पहिचान गर्नुपर्ने बताए। त्यस्तै, भदौ २४ गते सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनामा भएको तोडफोड तथा ध्वंसका घटनाको समेत निष्पक्ष अनुसन्धान हुनुपर्ने उनको भनाइ छ।
थापाले घटनामा संलग्न व्यक्तिलाई राजनीतिक आवरणमा उन्मुक्ति दिन नहुने स्पष्ट संकेत गर्दै भने, ‘आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ। तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन। उसले दण्ड पाउनुपर्छ।’
उनले सरकारले भदौ २४ गतेको घटनाबारे निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै अनुसन्धान कहाँ पुगेको छ भन्ने प्रश्नसमेत उठाएका छन्।
भदौ २३ गतेको घटनाबारे गरिएको अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै थापाले घटनाको वास्तविकता सार्वजनिक गर्नु राज्यको दायित्व भएको बताए।
उनका अनुसार भदौ २३ गते दमन गर्ने, आन्दोलनमा हिंसा भड्काउने र भदौ २४ गते अपराधमा संलग्न हुने सबैलाई कानुनी दायरामा ल्याउनुपर्छ।
‘अनि मात्रै राज्य जवाफदेही राज्य बन्ने बाटोमा अगाडि बढ्न सक्छ,’ थापाले भने।
थापाको पछिल्लो अभिव्यक्तिले घटनाको अनुसन्धानमा राजनीतिक पक्षधरता नभई दोषीको पहिचान र कानुनी कारबाहीलाई प्राथमिकता दिनुपर्ने कांग्रेसको धारणा स्पष्ट पारेको छ। उनले व्यक्तिगत क्षतिको प्रसंगभन्दा माथि उठेर मृतक तथा घाइते युवाको न्याय र राज्यको जवाफदेहितालाई आफ्नो सन्देशको केन्द्रमा राखेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया