logo

२०८३ भाद्र २४ बुधबार

logo
  • २०८३ भाद्र २४ बुधबार
  • ‘भदौ २४ को विध्वंसले देश २५ वर्षभन्दा धेरै पछाडि पर्‍यो’ : ओली

    703Shares
    ‘भदौ २४ को विध्वंसले देश २५ वर्षभन्दा धेरै पछाडि पर्‍यो’ : ओली

    काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते भएको विध्वंसले मुलुकलाई कम्तीमा २५ वर्षभन्दा धेरै पछाडि धकेलेको बताएका छन्। उनले उक्त दिनलाई देशकै लागि ‘कालो दिन’को संज्ञा दिएका छन्।

    बालकोटस्थित जलाइएको आफ्नो घरमा पुगेर सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले भदौ २४ गते भएको घटनाबाट मुलुकले ठूलो क्षति बेहोर्नुपरेको बताए। तत्कालको घटनालाई लिएर रमाउनेहरूले समेत त्यसको असर आगामी दिनमा भोग्नुपर्ने उनको भनाइ थियो।

    ‘देश २५ वर्षभन्दा धेरै पछि परेको छ, अहिले रमाउनेहरू कम्तीमा २५ वर्षभन्दा पछाडि परेका छन्। त्यो कुरा पछि भोग्दै जाँदा थाहा पाउँछन्, अहिले रमाउनेहरूले पनि,’ ओलीले भने।

    उनले भदौ २४ गतेको घटनालाई सामान्य राजनीतिक उतारचढावका रूपमा मात्र लिन नहुने बताए। विध्वंसका कारण मुलुकको विकास, पूर्वाधार र समग्र आर्थिक–सामाजिक अवस्थामै दीर्घकालीन असर पर्ने उनको दाबी थियो।

    यसै क्रममा ओलीले गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूलाई सुध्रिन दिएको चेतावनीप्रति पनि व्यंग्य गरेका छन्। गृहमन्त्रीले पुराना दलका नेताहरूको प्रशंसा गर्नुपर्ने हो कि होइन भन्ने प्रश्न गरेको प्रसंग उल्लेख गर्दै ओलीले नयाँ पुस्ताका नेताहरूको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए।

    ‘पहिले हेलिकप्टर चढेर भागेका थियौँ, अहिले त्यो पनि हाम्रै हातमा छ। चढिहाल्यौँ भने पनि जाक्दिन्छौँ भन्नुभएको छ। त्यही होइन र भन्या?’ ओलीले व्यंग्य गर्दै भने।

    उनले नयाँ राजनीतिक नेतृत्वप्रति कटाक्ष गर्दै ‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’ भन्ने टिप्पणीसमेत गरे।

    भदौ २४ गते भएको विध्वंसपछि राजनीतिक नेतृत्वबीच घटनाको जिम्मेवारी, त्यसबाट भएको क्षति र आगामी राजनीतिक दिशाबारे बहस चलिरहेका बेला ओलीको पछिल्लो अभिव्यक्तिले घटनालाई दीर्घकालीन राष्ट्रिय क्षतिसँग जोडेको छ। साथै, उनको गृहमन्त्रीप्रतिको व्यंग्यले पुराना र नयाँ राजनीतिक शक्तिबीचको बढ्दो टकरावलाई समेत संकेत गरेको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट